काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे बस्ने भएको छ । शनिबारका लागि तोकिएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो । पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक आज केन्द्रीय कार्यालयमा बस्नेछ।
शुक्रबार भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकमा नेताहरूबीच पार्टीभित्रको पुनर्गठन र नेतृत्व संक्रमणको आवश्यकताबारे गम्भीर बहस भएको थियो।
बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष ओलीलाई “मार्गप्रशस्त गर्न” सुझाव दिएका थिए।
शुक्रबारको बैठकमा नेताहरूले पार्टीको आगामी दिशा, संगठन सुदृढीकरण, संसद् पुनर्स्थापना वा नयाँ निर्वाचनमा जाने विकल्पबारे पनि धारणा राखेका थिए। तर, अन्तिम निष्कर्ष भने निस्किएको छैन।
आज बस्ने सचिवालय बैठकले पार्टीको आगामी महाधिवेशनको मिति प्रस्ताव गर्ने सम्भावना रहेको छ।
एमाले स्रोतका अनुसार महाधिवेशन मंसिरको अन्त्यतिर वा पुसको सुरुवातमा गर्ने प्रस्ताव सचिवालयले पारित गर्ने तयारीमा छ, जसको अन्तिम निर्णय केन्द्रीय कमिटी बैठकले गर्नेछ।
यसअघि पार्टीले केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्मका लागि बोलाइसकेको छ। उक्त बैठकमा सचिवालयले तय गर्ने प्रस्तावहरू औपचारिक रूपमा पेस गरिनेछ।
पछिल्लो समय एमालेभित्र नेतृत्व हस्तान्तरण र संगठन पुनर्संरचनाको माग तीव्र बनेको छ।