काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसका आधारमा सुशीला कार्की नेतृत्वको सरकार गठन भएको दावी गरेका छन् ।
शुक्रबार सम्पादकहरूसँग कुरा गर्दै संयोजक दाहालले वर्तमान अन्तरिम सरकारलाई ओलीले हाहाहुहुबाट बनेको भन्न नमिल्ने बताए ।
उनले भने–‘राजनीतिमा न्यूनतम र नैतिक रूपले प्रधानमन्त्री त्यति बेला केपी ओली नै हुनुहुन्थ्यो, केपी ओलीको लिखित सिफारिसका आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नुभएको हो । अब यो सरकार हाहुमा बनेको हो भन्न मिल्छ र ? हामीले बरु मिल्ला अलिअलि । केपी जिले त भन्नै मिल्दैन, उहाँ नै सिफारिसकर्ता हो, उहाँकै सिफारिसमा टेकेर राष्ट्रपतिले नियुक्ति गरेको हो, त्यसकारण हामी त्यसको साक्षी भइयो त्यति बेला, हामी साक्षी थियौँ, साक्षी छौँ ।’
संयोजक दाहालले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नका लागि राष्ट्रपतिले पहिल्यै नै ओलीलाई भेटेर सिफारिस समेत ल्याएको र आफूहरूलाई देखाएको दावी गरे ।
उनले भने–‘...केपी ओली जो सेनाले हेलिकप्टरमा हालेर हेटौँडा वा कता पुर्याएको भए पनि उहाँ नै काम चलाऊ प्रधानमन्त्री हुनुहुन्थ्यो, प्रधानमन्त्रीको सिफारिस चाहिन्थ्यो, राष्ट्रपति जी ले प्रधानमन्त्रीलाई भेटेर ल्याइसक्नुभएको रहेछ ।’
उनले शुक्रबार केपी ओलीले सरकार असंवैधानिक भएको भनेर मान्दिन भन्दै गरेको टिप्पणीको तुक नभएको समेत बताए ।
उनले भने–‘हिजो मैले केपीजीको भाषण सुने, उहाँले बडो आक्रामक ढंगले प्रस्तुति दिनु भयो, तर, हामीलाई त्यति बेला जे कागज देखाइयो, प्रधानमन्त्रीले सिफारिस गरेर राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्ति गर्ने पत्र उहाँले नै दिनुभाथ्यो त, अनि अहिले यो पनि मान्दिन त्यो पनि मान्दिन भन्नुको तुक हुन्छ र ?’