Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबार जलाउनेमाथि कारबाही हुनैपर्छ, छानविन मैबाट सुरु होस् : रक्षा बम

सिंहदरबार जलाउनेमाथि कारबाही हुनैपर्छ, छानविन मैबाट सुरु होस् : रक्षा बम

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । जेनजी प्रतिनिधि रक्षा बमले सिंहदरबार जलाउनेमाथि कारबाही हुनुपर्ने बताएकी छन् ।

आन्दोलनको क्रममा भदौ २४ गते सिंहदरबारअगाडि उभिएको तस्वीरमाथि उठेको प्रश्नहरूको जवाफ दिंदै बमले यस्तो बताएकी हुन् ।

बुधबार एक सन्देश सार्वजनिक गर्दै बमले उक्त तस्वीरको सन्दर्भ प्रष्ट पारेकी छन् । उनले भनेकी छन्–‘मेरो एउटा फोटो जुन सिंहदरबार अगाडि मैले खिचेको थिएँ, त्यो सेप्टेम्बर ९ को फोटो थियो । त्यो पनि सामाजिक संजालमा भाइरल भइरहेको छ। त्यो फोटो सम्बन्धि पनि यहाँहरूलाई धेरै प्रश्नहरू छन्।’

उनले प्रधानमन्त्रीको राजीनामा आएपछि जितको खुसीयालीमा उक्त फोटो पोस्ट गरेको बताएकी छन् ।

बमको उक्त पोस्टमा ‘देखिस् तेरो पतन !’ भन्दै जलिरहेको सिंहदरबार अगाडि उभिएको तस्वीर पोस्ट गरिएको देखिन्छ ।

‘सेप्टेम्बर ८ मा हामीसँग जे व्यवहार भयो त्यसको आक्रोश लिएर हामी सेप्टेम्बर ९ मा आन्दोलनमा उत्रेका थियौं। हामी प्रधानमन्त्रीको राजीनामा मागिरहेका थियौं। र त्यस बेलामा चाहिँ ठ्याक्कै प्रधानमन्त्रीको राजीनामा आएको थियो ।’ उनले भनेकी छन्–‘सिंहदरबार एउटा हाम्रो राज्यको प्रतीक भएको हिसाबले एउटा बिम्ब स्वरूप मैले हामीले जित्यौं भनेर जितको खुशी मनाएर त्यहाँनिर फोटो राखेको थिएँ। त्योभन्दा बाहेक त्यो फोटो केही पनि थिएन।’

उनले सिंहदरबार जलाउने जोसुकै भए पनि कारबाही गर्नुपर्ने र त्यसको छानबिन आफैंबाट सुरु गर्न पनि तयार भएको बताइन् ।

उनले भनेकी छन्–‘त्यतिखेर सिंहदरबारको गेट जलिरहेको थियो। म आक्रोशित थिएँ र एक किसिमको जित जस्तो महसुस भएर मैले त्यो फोटो राखेको हो । तर यसलाई तपाईंले राजनीतिक दृष्टिकोणले मात्र हेर्नुहुन्छ भने अनुसन्धान हुनुपर्छ। सिंहदरबार जलाउनेहरूलाई पनि अनुसन्धान हुनुपर्छ र गोली दाग्नेहरूलाई पनि अनुसन्धान हुनुपर्छ ।’

‘म के भन्न चाहन्छु भने हरेक फौजदारी अभियोग लाग्ने कसुरहरूमा कारबाही गर्नको लागि सरकार तयार हुनुपर्छ। तर सुरुवात म बाट नै हुनुपर्ने हो भने म पनि तयार छु।’–बमले अगाडि भनेकी छन् ।

यस्तो छ आरोपहरूमाथि रक्षा बमको स्पष्टोक्ति

सेप्टेम्बर ८ पछिका घटनाक्रमहरूका बारेमा यहाँहरू प्रष्ट नै हुनुहुन्छ। आजभन्दा ठ्याक्कै एक महिना अगाडिको दिन सम्झिन्छु, जुन दिन चिन्जी आन्दोलन भएको थियो, जुन दिन तत्कालिन सरकारले हाम्रा हामी र हाम्रा साथीहरूमाथि गोली दागेको थियो। बर्बरतापूर्वक हाम्रो साथीहरूको हत्या गरेको थियो। हामीले शान्तिपूर्ण भनेर सुरु गरेको आन्दोलनमा अराजकता फैलियोर हामीले धेरै साथीहरू गुमायौं।

त्यहाँ के भयो, कसो भयो, त्यसपछिका घटनाक्रमहरू के भए भन्ने कुरालाई सामाजिक सञ्जाल र संचार माध्यमबाट यहाँहरूलाई थाहा भइरहेकै नै छ। तर, त्यो भन्दा बाहेक यहाँहरूको मप्रति पनि केही प्रश्नहरू रहेछन् र म आज त्यसको उत्तर दिन आएको हुँ ।

सर्वप्रथम त म यहाँहरूलाई मेरो बारेमा केही कुरा भन्न चाहन्छु। म असत्य, झुट, हिंसा, अराजकता र कसैको पक्षपोषण गर्दै यहाँसम्म आइपुगेको होइन। म सधै सत्यको खोजीमा सडकमा आवाज उठाइरहने व्यक्ति हो। यसै सन्दर्भमा केही समय अगाडि हामीले गरिखान देऊ भनेर एउटा क्याम्पेन चलाएका थियौ। सडक व्यापारीहरूलाई चाहिँ महानगरले काठमाडौँ महानगरले गरेको जुन दमन थियो त्यसको विरुद्धमा हामीले काठमाडौँ महानगरपालिकासँग जवाफदेहिता माग्दै क्याम्पेन सुरु गर्‍यौं। हामी महानगर अगाडि १९९ घण्टा उभिएका थियौं।

त्यसैलाई लगायत हामी लुम्बिनी देखि सिंहदरबारसम्म संघीय सरकारलाई पनि झकझकाउँदै यस विषयमा केही पहल राम्रो पहल कदम लिनुपर्छ भनेर लुम्बिनी देखि सिंहदरबारसम्म हामी हिंड्दै आइपुगेका थियौं र बाटोमा भेटेका मान्छेहरूसँग सुझाव संकलन गर्दै हामीले त्यो सुझावपत्र तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई बुझाएका थियौं।

त्यही फोटो अहिले तपाईं सामाजिक संजालमा देखिराख्नुभएको छ होला मेरो। हामीले तत्कालीन प्रधानमन्त्रीलाई त्यो सुझाव पत्र बुझाउँदाको फोटो देखेर तपाईंहरूले मलाई मलाई माओवादीको झोले भन्नुभयो। त्यसैगरी कुनै एक पार्टीको सदस्यसँग मेरो नाम पनि मिल्ने भएकोले तपाईंहरूले मलाई एमाले भन्नुभयो। तपाईंले उसको नामको गाली मलाई दिँदै हुनुहुन्छ अथवा मेरो नामको गाली उसलाई दिँदै हुनुहुन्छ। तपाईंहरूले पहिला अनुहार चिन्न आवश्यक छ जस्तो लाग्छ ।

त्यसैगरी मेरो एउटा फोटो जुन सिंहदरबार अगाडि मैले खिचेको थिएँ। त्यो सेप्टेम्बर ९ को फोटो थियो। त्यो पनि सामाजिक संजालमा भाइरल भइरहेको छ। त्यो फोटो सम्बन्धि पनि यहाँहरूलाई धेरै प्रश्नहरू छन्।

त्यो फोटो सेप्टेम्बर ८ मा हामीसँग जे व्यवहार भयो त्यसको आक्रोश लिएर हामी सेप्टेम्बर ९ मा आन्दोलनमा उत्रेका थियौं। हामी प्रधानमन्त्रीको राजीनामा मागिरहेका थियौं। र त्यस बेलामा चाहिँ ठ्याक्कै प्रधानमन्त्रीको राजीनामा आएको थियो। सिंहदरबार एउटा हाम्रो राज्यको प्रतीक भएको हिसाबले एउटा बिम्ब स्वरूप मैले हामीले जित्यौं भनेर जितको खुशी मनाएर त्यहाँनिर फोटो राखेको थिएँ। त्योभन्दा बाहेक त्यो फोटो केही पनि थिएन।

त्यतिखेर सिंहदरबारको गेट जलिरहेको थियो। म आक्रोशित थिएँ र एक किसिमको जित जस्तो महसुस भएर मैले त्यो फोटो राखेको हो। तर यसलाई तपाईंले राजनीतिक दृष्टिकोणले मात्र हेर्नुहुन्छ भने अनुसन्धान हुनुपर्छ। सिंहदरबार जलाउनेहरूलाई पनि अनुसन्धान हुनुपर्छ र गोली दाग्नेहरूलाई पनि अनुसन्धान हुनुपर्छ।

म के भन्न चाहन्छु भने हरेक फौजदारी अभियोग लाग्ने कसुरहरूमा कारबाही गर्नको लागि सरकार तयार हुनुपर्छ। र, सुरुवात म बाट नै हुनुपर्ने हो भने म पनि तयार छु।

अर्को र अन्तिम कुरा, म एमाले, माओवादी, जेनजी को हो भनेर तपाईहरू अन्योलमै हुनुहुन्थ्यो । खोई कसले हो विदेशी एजेन्ट भन्दियो। मलाई विदेशी एजेन्टको ट्याग लगाएर यहाँहरूले कुराहरू गरिराख्नु भएको छ।

म साथीहरूलाई के भन्न चाहन्छु भने तपाईहरूसँग यदि ठोस प्रमाण छ भने तपाईहरू वान टु वान नै आउनुस् । त्यो प्रमाण लिएर आउनुस् मसँग। म लड्न पनि तयार छु। तर कुनै एउटा फेलोसिप जोइन गरेको आधारमा, कुनै एउटा ट्रेनिङ जोइन गरेको आधारमा तपाईंहरूले मलाई विदेशी एजेन्ट भन्नुहुन्छ भने तपाईंहरू गलत हुनुहुन्छ। यो तपाईंहरूको उग्र राष्ट्रवाद मात्रै हो।

हो, म यूएसवाईसीको सन् २०२२ को ब्याज हो। त्यहाँ मैले अरू युवाहरूलाई पनि भेटेको थिएँ। युवाहरूको संजाल बन्न पुगेको थियो। मैले त्यो यूएसवाईसीको फेलोसिपमा एक वर्षको सूचनाको हक सम्बन्धी ट्रेनिङहरू लिएको थिएँ र म सूचनाको हक सम्बन्धी सचेतना कार्यक्रम आजको दिन पनि गर्छु। मेरो सत्य यो नै हो।

सायद मैले भन्नु पर्ने यति नै थियो होला। आन्दोलन सकेको आज ठ्याक्कै एक महिना भयो। यो एक महिना मेरो लागि कैयौं दशकभन्दा पनि धेरै भएको छ। मलाई नानाथरी गाली गर्ने, विभिन्न ट्याग लाउने साथीहरूलाई म के भन्न चाहन्छु भने तपाईंहरूको डेथ थ्रेटले, तपाईंको रेप थ्रेटले, मलाई केही पनि फरक पर्दैन। म मेरो खुट्टा कमाउने वाला मान्छे होइन।

म सधै सडकमा न्यायको पक्षमा उभिने, सत्यको पक्षमा उभिने मान्छे हो। त्यसैले म डराउँदिनँ।

मैले आन्दोलनको मुद्दा बिर्सेको छैन। आन्दोलनमा सहादत प्राप्त साथीहरू र घाइते साथीहरूले न्याय पाउनै पर्छ। म त्यसको लागि सदैव आवाज उठाउनको लागि तयार छु र म उठाउने छु।

अझै पनि हामी लोकतन्त्र चाहन्छौं, हामी संविधान चाहन्छौं, हामी देशमा विधिको शासन चाहन्छौं, हामी शान्ति चाहन्छौं। त्यसैले कुनै पनि समूह, कुनै पनि व्यक्ति या कुनै पनि संस्थाले देशमा फेरि अराजकता फैलाएर देशमा अशान्ति फैलाउन खोज्यो भने हामी आफ्नो खबरदारीको लागि अग्रसर भूमिकामा नै रहनेछौं ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077