काठमाडौँ । नेकपा एमालेनिकट अखिल क्रान्तिकारी (अनेरास्ववियु) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपाली संस्थाका अध्यक्ष सुदन गुरुङविरुद्ध काठमाडौं प्रहरी परिसरमा औपचारिक जाहेरी दर्ता गरेको छ ।
अनेरास्ववियुका कार्यकर्ताहरू मंगलबार दिउँसो भद्रकालीस्थित प्रहरी परिसर पुगेका थिए । जाहेरी दर्ता नहुँदा पनि प्रहरीको मुद्दा फाँटका प्रमुख राजु अधिकारीले सरकारी वकिलसँग राय लिएर २४ घण्टाभित्र जवाफ दिने बताएका छन् ।
अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालका अनुसार जाहेरीमा भाद्र २३ र २४ गते देशभर भएका आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्ति जलाउने, तोडफोड गर्ने, प्रहरीमाथि आक्रमण गर्ने र हत्या गर्न उक्साउने आरोप लगाइएको छ ।
लुटपाट, आगजनी, व्यक्ति हत्या र हिंसा फैलाउने कार्यमा संलग्नहरूलाई कानुनअनुसार कारबाही गर्न माग गरिएको छ । नागरिक भएर विदेशीका लागि जासुसी गर्ने, राष्ट्रिय सम्पत्तिमा क्षति पुर्याउने कार्य अक्षम्य रहेको अनेरास्ववियुको ठहर छ ।
अनेरास्ववियुका अनुसार, आन्दोलनका क्रममा भएको अराजक गतिविधिको जिम्मेवारी लिने र कानुनी जवाफ दिने वातावरण बनाउन प्रहरीसँग माग गरिएको छ।