काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भदौ २४ गतेको आगजनीका क्रममा काठमाडौं महानगरले दमकल नपठाएको भन्ने आरोपको कडा खण्डन गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले जनतालाई भ्रममा पार्ने खालका हल्ला नगर्न आग्रह गर्दै “सत्य बुझौं, अफवाह नफैलाऔं” भन्ने सन्देश दिएका छन् ।
शाहले लेखेका छन्, “यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो ? तीन दिनसम्म जलेको हेरेर बस्यो ? र सिंहदरबार जलाउने नै बालेन शाह हो ! भन्ने हल्लाहरू पूर्णरूपमा बेआधार र गलत हुन् ।' उनका अनुसार आगलागीका बेला देश अराजक अवस्थामै पुगेको थियो, सुरक्षा संयन्त्र ठप्प थियो, तर पनि काठमाडौं महानगरको टिम जिउज्यानको जोखिम मोल्दै उद्धार र आगो नियन्त्रणमा खटिएको थियो।
शाहले भने, 'त्यो दिन राज्य नै ठप्प थियो, तर स्थानीय सरकार—काठमाडौं महानगर— आफ्नो दायित्वबाट पछि हटेको थिएन।' उनका अनुसार आन्दोलनकारीको अवरोधका कारण सिंहदरबारमा दमकल पुग्न ढिलाइ भएको भए पनि २४ गते राति ८ः१५ बजे नै महानगरको दमकल सिंहदरबार पुगेको थियो।
उनले प्रष्ट पारेका छन्, महानगरका न्युरोड, बालाजु र रामहिटीमा रहेका ५ वटा दमकल ३ शिफ्टमा ४४ जना सुरक्षाकर्मीको टिमले सञ्चालन गरिरहेको छ। ती दमकलहरूले २३ देखि २८ गतेसम्म ५५ भन्दा बढी स्थानमा आगो निभाउने काम गरेका थिए — जसमा संसद भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत, विभिन्न बैंक, प्रहरी वृत्त, भाटभटेनी सुपरमार्केटहरू, डाटा सेन्टर र सरकारी कार्यालयहरू समेत परेका थिए।
शाहले दमकल मात्र नभई घाइतेहरूको उपचार, औषधि र रगत व्यवस्थापन, लास व्यवस्थापन र अस्पतालसँगको समन्वयमा पनि महानगर निरन्तर खटिएको बताएका छन्। उनका अनुसार परिवारविहीन बिरामीहरूको ‘Informed Consent’ फारममा समेत नगरप्रहरीले हस्ताक्षर गरेर अभिभावकको भूमिका निर्वाह गरेको थियो।
'हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन,' शाहले लेखेका छन्, 'हल्ला फैलाउने र तथ्य बिना टिप्पणी गर्नेहरूबाट सावधान रहनुहोस्। यस्तो कार्यले जनतालाई भ्रममा पार्छ र ज्यानको जोखिममा खटिने हाम्रो टिमको मनोबल कमजोर बनाउँछ।'
अन्त्यमा मेयर शाहले मिडियाप्रति पनि आह्वान गरेका छन् —'कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस्, अफवाह नफैलाउनुहोस्। जनताले सही जानकारी पाउने अधिकार राख्छन्। हामी सधैं जनताको भरोसा, जिम्मेवारी र आपत्कालीन व्यवस्थापनका लागि खटिरहनेछौं।'
'देशलाई अहिले एकता र सत्यको खाँचो छ, हल्ला र झुटको होइन,' शाहले उल्लेख गरे ।