काठमाडौंं । निर्वाचन आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दैछन्। फागुन २१ गतेका लागि हिजो कार्यतालिका सार्वजनिक गरेको आयोगले आवश्यक तयारीबारे छलफल गर्न लागेको हो।
दिउँसो ३ बजे सिंहदरबारमा छलफल तय भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए। उनका अनुसार मतपेटिका र मतपत्र लगायतका सामाग्रीहरु आयोगसँग जगेडा छन्।
त्यसबाहेक नयाँ खरिद गर्नुपर्ने सामाग्रीहरुको आन्तरिक विश्लेषण आयोगले गरिरहेको छ । त्यसभन्दा पनि बढी दलहरुसँगको समन्वय चुनौतीपूर्ण बनेको छ ।
घिमिरेका अनुसार छिट्टै सर्वदलीय बैठक बोलाउनेबारे आयोगमा तयारी भइरहेको छ । त्यही बैठकमार्फत् दल र सरकारबीचको संवादहीनतासमेत तोड्नेगरीको तयारी भइरहेको छ। यसबारे समेत आजको बैठकमा थप छलफल हुनेछ।
आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चुनावमा भाग लिन चाहने नयाँ दलले कात्तिक ३० गतेभित्र दर्ता भएको प्रमाणपत्र लिइसक्नुपर्नेछ । निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय भने मंसिर १ देखि १० गतेसम्म तय गरिएको छ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण संसद विघटन भएपछि फागुन २१ गते मध्यावधि निर्वाचन घोषणा गरिएको थियो। आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।