वीरगन्ज । दशैंको उल्लासमय वातावरणमा अष्टमीको राति वीरगन्जमा भएको हत्या घटना योजनाबद्ध भएको खुलेको छ ।
पर्सा प्रहरीका अनुसार ‘खुनी दरिन्दे समूह’ नामक ग्याङले २० वर्षीय शिवम कुमार साह कानु (उर्फ गोल्डेन) लाई योजनाबद्ध आक्रमण गरी हत्या गरेको हो ।
पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले बिहीबार पत्रकार सम्मेलनमार्फत उनले गत मंगलबार राति करिब ११ः३० बजे वीरगन्ज–१० स्थित गीतामन्दिर रोडमा दुई समूहबीच विवादपछि हातपाती र हतियार प्रहार हुँदा बाराको परवानीपुर–९ का स्थायी निवासी तथा हाल वीरगन्जमै बस्दै आएका साह गम्भीर घाइते भएको बताए ।
उनलाई तत्काल उपचारका लागि नारायणी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। एसपी पाठकका अनुसार ‘खुनी दरिन्दे समूह’ ले सामाजिक सञ्जाल ह्वाट्सअप मार्फत आपसी समन्वय गर्दै यसअघि भएको झगडाको रिसबी साँध्न गोल्डेनलाई लक्षित गरेर आक्रमण गरेको पाइएको छ। बाँसको भाटा र हातमुक्कासहित गरिएको आक्रमणले उनको ज्यान गएको हो।
प्रहरीले घटनामा संलग्न मुख्य आरोपीसहित पाँच जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा वीरगन्ज–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमीरी पटेल (उर्फ करण प्रसाद पटेल), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन्।
तीमध्ये तीन जनालाई घटनाको रातमै पक्राउ गरिएको हो भने बाँकी दुई जनालाई भारतको बिहार, पश्चिमी चम्पारणस्थित बल्थर गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा ३२ जनाको टोली परिचालन गरिएको थियो। प्रहरीले २४ घण्टाभित्रै मुख्य आरोपीसहित पाँच जनालाई नियन्त्रणमा लिन सफल भएको दाबी गरेको छ।
एसपी पाठकले हत्यामा संलग्न अन्य केही व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी दिए ।