नुवाकोट । नुवाकोटमा भएको दुई दाजुभाइको हत्या कुलोको ठेक्का विवाद र पुरानो रिसिबीका कारण गरिएको प्रहरीको निष्कर्ष छ ।
जिल्लाको म्यागम गाउँपालिका–४ स्थित किम्ताङ बेसीका ४३ वर्षीय समराज तामाङ र उनका भाइ ३६ वर्षका सूर्यमान तामाङ वैशाख २९ मा घरबाट कुलो बनाउन निस्केका थिए ।
कुलो बनाउन भन्दै घरबाट निस्केका समराज र सूर्यमान त्यसदिन साँझसम्म घर नफर्केपछि खोजि गर्दा उनीहरुको भोलि पल्ट बिहान किम्ताङ खोलामा ढुंगाले खिचेर लुकाइएको अवस्थामा भेटिएको थियो ।
त्यसपछि हत्यामा संलग्न आरोपमा त्यही गाउँका धनबहादुर तामाङ उर्फ धने र सोमबहादुर तामाङ उर्फ माइलालाई प्रहरीले धादिङको खनियाबास गाउँपालिका वडा नम्बर–५ बाट वैशाख ३१ मा पक्राउ गरेको थियो ।
किम्ताङ खोलामा बन्दै गरेको कुलोको पेटी ठेक्काको विवादमा दाजुभाइको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
मृतक दाजुभाइले गाउँमा ठेक्कापट्टा गर्थे । हत्यामा संलग्न धने र माइला मजदुर हुन् । बन्दै गरेको कुलोमा उनीहरुले काम गर्न खोजेका थिए । समराज र सुर्यमानले ठेक्का अर्कैले पारेको हुनाले आफूहरूले काम दिन नसक्ने बताएपछि उनीहरूबीचमा विवाद चर्केको थियो ।
त्यसअघिको पुरानो विवाद पनि कायमै रहेको उनीहरूबीच त्यसदिन फोनमा बाझाबाझ भएको थियो । विवाद भएपछि मोटरसाइकल लिएर निस्किएका समराज र सूर्यमानलाई बाटोमा बन्दुक लिएर बसेका धने र माइलाले गोली प्रहार गरेका थिए ।हत्यापछि आरोपीहरूले दुवै जनाको शव खोलाभन्दा केही माथि ल्याएर व्यवस्थापन गरेका थिए ।
सूर्यमानको छातीमा गोली र दाइ समराजको टाउको पछाडिको भागमा बन्दुकको बट प्रहारबाट हत्या गरिएको प्रहरीको निष्कर्ष छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटकाअनुसार हत्यामा संलग्न दुई जना विरुद्ध अदालतबाट ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।
प्रहरीले यसअघि थप ४ जनालाई पनि सोधपुछको लागि नियन्त्रणमा लिएको थियो । उनीहरूको संलग्नता पुष्टि नभएपछि चार जनालाई रिहा गरिएको नुवाकोट प्रहरीले जनाएको छ । मृतक दाजुभाइको शव त्रिशूली अस्पतालमा पोस्टमार्टम गरिएको छ ।
घटनास्थलबाट प्रहरीले ३ वटा भरुवा बन्दुकसहित खुकुरी र एउटा मोटरसाइकल समेत बरामद गरेको छ ।