काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी समूहको फरक मत राख्नै नदिने रणनीतिमा संस्थापन पक्षधर नेताहरू लागेका छन् ।
भण्डारी समूहका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा फरक मत राख्ने तयारी गरेपछि सचिवालयमै त्यसलाई रोक्ने तयारी छ । महाधिवेशनमा पेस हुने दस्तावेजलाई अन्तिम रूप दिन बिहीबार सचिवालय बैठक बस्दै छ ।
जनताको बहुदलीय जनवाद (जबज) को कार्यान्वयनका विषयमा पार्टी नेतृत्वको स्वेच्छाचारी र कमजोर पक्षलाई समेटेर फरक मतसहितको प्रतिवेदन महाधिवेशनमा पेस गर्ने तयारीमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेसहितका नेताहरू लागेका छन् ।
७० वर्षे उमेरहद, पदाधिकारीमा दुई कार्यकालको व्यवस्था उल्ट्याउँदै तेस्रो कार्यकालका लागि ओलीलाई अध्यक्षमा सुनिश्चित गर्न यी नेता असन्तुष्ट छन् । एमाले सदस्य हुन माक्र्सवाद–लेनिनवाद, जबजको सिद्धान्त, कार्यक्रम, नीति र विधानलाई स्वीकार नगर्ने व्यक्तिलाई समेत सदस्यता दिनेगरी विधान संशोधनको प्रस्ताव गरिएको छ ।
एमाले महासचिव शंकर पोखरेलले पार्टी उपाध्यक्षद्वय ज्ञवाली र पाण्डेले राखेको असहमति दस्तावेजमाथि नभएर पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्किन हुँदैन भन्ने निर्णयमाथि रहेको बताएका छन् । राजधानी दैनिकबाट