काठमाडौं । संविधान दिवस (३ असोज) मा पार्टी एकताको घोषणा गर्नेगरी नेकपा एमाले बाहेकका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
समाजवादी मोर्चा हुँदै पार्टी एकतासम्म पुग्ने उद्घोष गरेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), आमजनता पार्टी (आजपा), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेतृत्व एकीकरणको अन्तिम गृहकार्यमा जुटेका छन् ।
एकीकरणको सैद्धान्तिक छलफल जारी रहेका बेला समाजवादी केन्द्रलगायतका केही दलमा आन्तरिक किचलो बढेपछि नेताहरू एकीकरणका लागि हतारिएका हुन् ।
सो पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएपछि उनको राजीनामाको विषयलाई लिएर आन्तरिक विवाद उत्कर्षमा छ ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले पार्टीको निर्णयअनुसार पार्टी एकताका लागि छलफल भइरहेको जनाएका छन् ।
विभिन्न कम्युनिस्ट पार्टीहरूका बीचमा एकता गर्दै शक्तिशाली पार्टी निर्माण गर्ने भन्ने विषयमा छलफल भइरहेको र यस प्रक्रियाले निकै चाँढै मूर्तरूप लिने बताए । राजधानी दैनिकबाट