काठमाडौं । तराई मधेश केन्द्रित राजनीति गर्दै आएका जनता समाजवादी पार्टी नेपाल (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले राष्ट्रिय राजनीतिमा सधैं ‘दहीचिउरे प्रवृत्ति’ देखाउँदै आएका छन् ।
अधिकांश समय यी दुई दल सहज पर्दा विपक्षी बन्ने र असहज अवस्थामा सत्ता पक्षको कित्तामा उभिने गरेका छन् । जसपा र नाउपाले कहिले सरकारलाई समर्थन गर्छन् त कहिले फिर्ता लिएर विपक्षी कित्तामा उभिन्छन् ।
सहज पर्दा विपक्षी कित्तामा उभिने गरेको नाउपा पार्टीभित्र आन्तरिक लफडा र नेतृ रञ्जिता श्रेष्ठ भ्रष्टाचार प्रकरणमा मुछिएलगत्तै बुधबार सत्ता पक्षको कुर्सी खोज्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई हारगुहार गर्न पुग्यो ।
नाउपाका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ श्रीमान–श्रीमती हुन् । पार्टीभित्रको आन्तरिक तिक्तता संसद्सम्म पुगेको छ ।
कहिले सरकारलाई समर्थन गर्ने त कहिले सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाले बुधबार सत्ता पक्षमै रहेको भन्दै सोहीअनुसार बस्ने कुर्सीको व्यवस्थाका लागि निवेदन नै दिनुपर्ने अवस्थामा आइपुगेको छ ।
अध्यक्ष श्रेष्ठले संसद्मा सत्ता पक्षमा बस्ने व्यवस्था मिलाइदिनका लागि संसद् सचिवालयलाई पत्र लेखेकी छन् ।
‘२२ असारमा सरकारबाट समर्थन फिर्ता लिने भनी त्यहाँ संसद् सचिवालयमा समेत जानकारी गराएको व्यहोरासहितको पत्र बदर गरी पार्टीको निर्णयबमोजिम वर्तमान सरकारमाथि पूर्णकालीन विश्वास एवं समर्थन रहेको जानकारी गराउँदै अब सरकार पक्षतर्फ रहने व्यहोरासमेत अनुरोध गरिएको छ,’ पत्रमा उल्लेख गरिएको छ । राजधानी दैनिकबाट