काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गर्ने भएका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमका बीचमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपश्चात गौतमले एमालेमा प्रवेश गर्ने जनाएका हुन् ।
गौतम एमाले प्रवेश गरे पनि अभियानमा आबद्ध केही नेता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गर्ने भएका छन् । ती नेताले एमालेमा प्रवेश नगरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) वा माओवादीमा प्रवेश गर्नुपर्ने अडान लिएको स्वयं गौतमले जनाएका छन् ।
प्रधानमन्त्री ओलीसँग छलफल भएपछि अब छिट्टै नै पार्टी प्रवेशको मिति, स्थान र समय तोकिने गौतमले जनाएका छन् । ‘२ वर्ष भयो मैले प्रयत्न गरेको, तपाईंले वास्तै गर्नुभएन, तर यसपालि बोलाउनुभयो ठीकै छ,’ प्रधानमन्त्रीसँग भएको छलफलमा गौतमले भने । गौतमजस्तो पुरानो र इतिहास बोकेको नेता एमालेमा सक्रिय भएर लाग्नुपर्ने प्रधानमन्त्रीले गौतमसक्ष राखेका थिए ।
यसअघि गौतमले एमाले प्रवेश गर्न खोजेका थिए । तर, ओलीले उनलाई एमाले भित्र्याउन चासो दिएका थिएनन् । जब गौतमले एकीकृत समाजवादी प्रवेशका लागि माधवकुमार नेपालसँग छलफल थाले, त्यसपछि ओलीले पुनः गौतमलाई एमालेमै भित्र्याउने चाहना व्यक्त गरे ।
सोहीअनुसार एमालेका नेताहरूले गौतमसँग अनौपचारिक छलफल गर्दै ओलीसँगै भेट्टाउने र एमाले भित्र्याउनेगरी छलफल चलाए । राजधानी दैनिकबाट