काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आन्तरिक मतभेद समाधान गर्ने उद्देश्यले संस्थापन पक्षले अघि सारेको ७ बुँदे सहमति प्रस्ताव सार्वजनिक भएको छ।
सहमतिको पहलस्वरूप तयार पारिएको यो प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले जेठ १६ गते निवर्तमान सभापति शेरबहादुर देउवा समूह र नेता शेखर कोइराला समूहलाई पठाएका थिए । तर दुवै पक्षबाट औपचारिक प्रतिक्रिया नआएपछि उक्त प्रस्ताव सार्वजनिक गरिएको हो ।
प्रस्तावमा पार्टीभित्र लामो समयदेखि देखिँदै आएका मतभेदलाई स्वीकार गर्दै अब एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। विशेष महाधिवेशनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सम्बोधन गर्दै संगठनलाई थप सुदृढ बनाउने उद्देश्य प्रस्तावमा समेटिएको छ।
सहमति प्रस्तावका मुख्य बुँदाहरूमा विशेष महाधिवेशनको परिणाम स्वीकार गर्दै सबै विवादलाई आगामी १५औँ महाधिवेशनको बन्दसत्रमा छलफल गर्ने व्यवस्था, पार्टी सदस्यहरूबीच कुनै पनि प्रकारको विभेद नगर्ने नीति, तथा संगठनलाई एकताबद्ध बनाउने प्रतिबद्धता समावेश गरिएको छ।
त्यस्तै, क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया निर्धारित समयमै पूरा गर्ने, वरिष्ठ नेताहरूलाई केन्द्रीय समितिमा सम्मानजनक भूमिकामा समेट्ने, तथा कार्यसम्पादन समितिमा समावेशी सहभागिता सुनिश्चित गर्ने विषय पनि प्रस्तावमा उल्लेख छ।
यसैगरी, १५औँ महाधिवेशनका लागि निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा सहकार्य गर्ने तथा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने प्रस्ताव पनि समेटिएको छ।
भ्रातृ तथा शुभेच्छुक संस्थाहरूमा योग्य र इच्छुक सदस्यहरूलाई जिम्मेवारी दिने विषय पनि प्रस्तावमा उल्लेख छ।