काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सल्यान र जाजरकोटस्थित गुल्ममा कार्यरत कर्मचारीलाई अस्वाभाविक रूपमा ठूलो संख्यामा बिदा स्वीकृत गरिएको भेटिएपछि दुवै गुल्मका कमाण्डरलाई जिम्मेवारीबाट फिर्ता बोलाएको छ।
सशस्त्र प्रहरीका अनुसार अत्यधिक मात्रामा बिदा स्वीकृत गरिएको भन्ने उजुरी परेपछि प्रधान कार्यालयले वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा छानबिन टोली गठन गरेको थियो ।
छानबिन टोलीले स्थलगत अध्ययन तथा अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा सल्यान र जाजरकोटका गुल्मपति रहेका दुई डीएसपीलाई कमाण्डबाट हटाएर प्रधान कार्यालयको कानुन निर्देशनालयमा हाजिर गराइएको हो ।
उनीहरूमाथि विभागीय कारबाहीसमेत सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ। रिक्त भएका दुवै गुल्ममा नयाँ कमाण्डर खटाउने प्रक्रिया अघि बढाइएको छ ।
यसैबीच, मुस्ताङको कोरला नाकाबाट दुई ट्रकमा अवैध रूपमा भित्रिएको भेप (इलेक्ट्रोनिक चुरोट) प्रकरणमा सुरक्षा कमजोरी देखिएको निष्कर्षपछि सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) नेचुङका तत्कालीन कमान्डरमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको छ।