काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण गर्ने सशस्त्र प्रहरी बल नेपालका दुई महिला आरोहीलाई एक तह बढुवा गरिने भएको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई उनीहरूको ऐतिहासिक पर्वतारोहण उपलब्धिको सम्मानस्वरूप पदोन्नति गर्ने प्रक्रिया अघि बढेको हो ।
शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित सम्मान कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले उनीहरूको योगदानको प्रशंसा गर्दै बढुवासम्बन्धी जानकारी दिए ।
सहायक निरीक्षक शेर्पाको बढुवा प्रक्रिया तत्काल अघि बढाइने भएको छ भने सहायक हवल्दार कार्कीलाई निर्धारित सेवा अवधि पूरा भएपछि हवल्दार पदमा पदोन्नति गरिने जनाइएको छ ।
कार्कीले जेठ ३ गते बिहान १०ः२० बजे सगरमाथा सफलतापूर्वक आरोहण गरेकी थिइन् । त्यसैगरी शेर्पाले सोही दिन बिहान ११ः५५ बजे सगरमाथा र जेठ ४ गते दिउँसो ३ः२५ बजे लोत्से हिमालको सफल आरोहण गर्दै दोहोरो ऐतिहासिक उपलब्धि हासिल गरेकी हुन् ।
सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने उनीहरू सशस्त्र प्रहरी बल नेपालको तर्फबाट पहिलो महिला आरोही भएको पनि जनाइएको छ ।