एजेन्सी । भारतमा घरेलु प्रयोगका एलपीजी ग्यास सिलिन्डरको मूल्य फेरि बढाइएको छ । आइतबारदेखि लागू हुने गरी १४.२ किलोग्राम क्षमताको घरेलु सिलिन्डरमा २९ भारतीय रुपैयाँ (भारु) मूल्य वृद्धि गरिएको हो ।
नयाँ मूल्यसूचीअनुसार राजधानी दिल्लीमा घरेलु एलपीजी सिलिन्डरको मूल्य ९१३ भारुबाट बढेर ९४२ भारु पुगेको छ। यो पछिल्लो तीन महिनाभित्र गरिएको दोस्रो मूल्यवृद्धि हो।
यसअघि गत मार्च ७ मा पनि सिलिन्डरको मूल्य ६० भारुले बढाइएको थियो। यससँगै तीन महिनाको अवधिमा घरेलु ग्यासको मूल्य कुल ८९ भारुले महँगिएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार अन्तर्राष्ट्रिय बजारमा ऊर्जा स्रोतहरूको मूल्य बढ्दै जानु र घरेलु बिक्रीमा निरन्तर घाटा बढ्नुलाई तेल कम्पनीहरूले मूल्यवृद्धिको मुख्य कारण बताएका छन्।
सरकारी स्वामित्वका तेल कम्पनीहरूले प्रत्येक घरेलु सिलिन्डरमा करिब ७०० भारुसम्म घाटा बेहोरिरहेको दाबी गरिएको छ। पछिल्लो मूल्यवृद्धिले उक्त घाटाको केही हिस्सा मात्रै पूर्ति गर्ने जनाइएको छ।
एलपीजीसँगै भारतमा पेट्रोलियम पदार्थको मूल्य पनि उकालो लागिरहेको छ। मे महिनामा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ७.५० भारुले बढाइएको थियो भने सीएनजीको मूल्य प्रतिकिलोग्राम करिब ६ भारुले वृद्धि गरिएको थियो।
तेल कम्पनीहरूका अनुसार हाल पेट्रोलमा प्रतिलिटर करिब ११ भारु र डिजेलमा ३३।६ भारुसम्म घाटा भइरहेको छ।