सिरहा । एसईई र कक्षा–१२ को परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाले सिरहामा विवाद चुलिएको छ ।
प्रशासनको उक्त कदमप्रति असन्तुष्टि जनाउँदै विद्यार्थी संगठनहरूले क्षतिपूर्ति र न्यायको माग गर्दै विरोध प्रदर्शनको घोषणा गरेका छन् ।
संयुक्त विद्यार्थी संगठनको नाममा सार्वजनिक सूचनाअनुसार सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहाको अगाडि प्रदर्शन गरिनेछ। प्रदर्शनमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आह्वान गरिएको छ ।
विद्यार्थी संगठनहरूले ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने मुख्य नारासहित आन्दोलन गर्ने बताएका छन्। उनीहरूले जफत गरिएका मोबाइल तथा स्मार्ट घडी नष्ट गर्नुको सट्टा कानुनी प्रक्रिया अपनाई क्षतिपूर्ति वा उचित व्यवस्थापन हुनुपर्ने माग गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न परीक्षाका क्रममा परीक्षार्थीबाट जफत गरिएका करिब ५०० मोबाइल फोन तथा स्मार्ट घडी नष्ट गरेको हो। प्रशासनका अनुसार सात वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल फोन र पाँच वटा स्मार्ट वाच बरामद गरिएको थियो।
बरामद सामग्रीको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ। शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसहितको पाँच सदस्यीय समितिले मोबाइल नष्ट गरेको हो।
समितिका अनुसार उपकरणलाई पानीमा २४ घण्टा डुबाएर पुनः प्रयोग नहुने अवस्थामा पुर्याई अन्ततः नष्ट गरिएको हो।