काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको उम्मेदवार छनोट प्रक्रियामा ऐतिहासिक परिवर्तनको घोषणा गर्दै अबदेखि ‘प्राइमेरी’ निर्वाचन प्रणाली लागू गरिने बताएका छन् ।
उनले अब चुनावी टिकट कुनै नेताको व्यक्तिगत तजबिज वा बन्द कोठाको निर्णयबाट नभई स्पष्ट विधि र प्रतिस्पर्धात्मक प्रक्रियाबाट तय हुने बताएका हुन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसलाई थप लोकतान्त्रिक, पारदर्शी र युवामैत्री बनाउने लक्ष्यसहित संगठनात्मक सुधारको नयाँ खाका सार्वजनिक गरे।
‘अब कसले चुनाव लड्ने भन्ने कुरा सभापतिले कोठामा बसेर निर्णय गर्ने होइन, निश्चित पद्धति र प्राइमेरी निर्वाचनमार्फत तय हुनेछ,’ उनले भने।
थापाले पार्टीको नेतृत्व तहमा नयाँ पुस्तालाई स्थापित गर्न ३० वर्षमुनिका युवालाई अनिवार्य रूपमा नेतृत्वमा ल्याउने योजना अघि सारेका छन्।
प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना ३० वर्षमुनिका युवालाई महाधिवेशन प्रतिनिधि बनाउने विधानको व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने उनले स्पष्ट पारे।
गत निर्वाचनमा करिब १० लाख समर्थक मत गुमाएको स्वीकार गर्दै थापाले ती मतदाताको विश्वास पुनः जित्नु आफ्नो नेतृत्वको मुख्य चुनौती भएको बताए।
‘हामीले ती १० लाख शुभेच्छुकलाई पुनः भरोसा दिलाउनुपर्छ। त्यसका लागि कांग्रेसलाई समुदायको सेवा, विकास र जनतासँगको प्रत्यक्ष सम्बन्धसँग जोड्नुपर्छ,’ उनले भने।
पार्टीभित्र पुस्तान्तरण र अनुभवको समन्वयका लागि वरिष्ठ नेताहरूको अनुभव उपयोग गर्न ‘विजडम काउन्सिल’ तथा नयाँ पुस्तालाई नीति निर्माणमा जोड्न ‘पोलिसी एकेडेमी’ सक्रिय बनाइने घोषणा पनि उनले गरे।