काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापतिले नै सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
बुधबार शेरबहादुर देउवा पक्षीय बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले अहिले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको एकताका लागि नेतृत्व थप जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।
'आज देशमाथि नै संकट आएको छ, लोकतन्त्रको भविष्य के हुने भन्ने अवस्था सिर्जना हुँदै छ। पार्टीको १५औँ महाधिवेशन निष्पक्ष, पारदर्शी, सम्मानजनक र सहभागितामूलक ढंगले सम्पन्न हुनुपर्छ,' उनले भनेका छन् ।
नेता महतले आफूहरू पार्टीभित्र कुनै पनि प्रकारको विग्रह नचाहने र सदैव एकताको पक्षमा रहेको स्पष्ट पारे । विशेष अधिवेशनबाट निर्वाचित नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्ने कानुनी र नैतिक दायित्व रहेको उल्लेख गर्दै उनले एक पक्षीय ढंगले पार्टी सञ्चालन गर्न नहुने बताए ।
'हामी पार्टी एकताको पक्षमा छौँ र कुनै पनि अवस्थामा विग्रह चाहँदैनौँ । तर वर्तमान नेतृत्वले सबैलाई मिलाएर लैजाने जिम्मेवारी भुल्नु हुँदैन,' उनले थप भनेका छन् ।
त्यस्तै, उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सहमतिका आधारमा ‘साझा संयन्त्र’ निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।
साथै क्रियाशील सदस्यता नवीकरणको विषयमा पनि उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले टुङ्गो लगाइसकेको सदस्यतालाई पुनः नवीकरण गरिरहनु आवश्यक नरहेको बताए ।
पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय भेलाहरू गरिरहेकै बेला देउवा समूहले पनिआन्तरिक रणनीति निर्माणका लागि मंगलबारदेखि छुट्टै प्रदेशस्तरीय छलफल सुरु गरेको छ ।
देउवा समूहले मंगलबार कोशी प्रदेशस्तरीय भेला मोरङको विराटनगरमा गरेको थियो । भेलामा नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन र वर्तमान राजनीतिक अवस्थालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो ।
प्रदेशस्तरीय छलफललाई निरन्तरता दिदैँ बुधबार भने काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला गरिएको हो ।