Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अवैध रुटबाट अमेरिका पुर्‍याउने लोकमान पक्राउ, करोडौँ ठगीको आरोप

अवैध रुटबाट अमेरिका पुर्‍याउने लोकमान पक्राउ, करोडौँ ठगीको आरोप

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । बेलायत र अमेरिका पठाइदिने प्रलोभन देखाएर एक नेपालीबाट ६५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा मानव तस्करीमा संलग्न एक युवक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले दाङ शान्तिनगर गाउँपालिका–३ का २६ वर्षीय लोकमान खत्रीलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार (मानव तस्करी) मुद्दामा अनुसन्धान अघि बढाएको हो ।

ब्यूरोका सूचना अधिकारी (एसपी) राजन लिम्बुका अनुसार खत्रीले पीडितलाई ‘भिजिट भिसामा बेलायत पठाएर पछि वर्किङ भिसामा रूपान्तरण गराइ राम्रो कम्पनीमा मासिक दुई लाख रुपैयाँसम्म कमाइ हुने काम लगाइदिन्छु’ भन्दै प्रलोभन दिएका थिए । उनले प्रारम्भिक भिसा प्रक्रिया सुरु गर्न भन्दै चार लाख रुपैयाँ आफ्नो खातामा जम्मा गराएका थिए ।

पछि बेलायतको भिसा नआएको बहाना बनाउँदै खत्रीले पीडितलाई अमेरिका पठाउने प्रस्ताव गरेका थिए । उनले “हवाई मार्ग प्रयोग हुने भएकाले अमेरिका सुरक्षित रूपमा पुग्न सकिन्छ” भन्दै ४५ लाख रुपैयाँ लाग्ने बताएपछि पीडितबाट पटक–पटक गरी कुल ६५ लाख २६ हजार ७ सय ८० रुपैयाँ असुलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार खत्रीले पीडितलाई २०८१ भदौ १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई हुँदै भारत, पुनः नेपाल, त्यसपछि कतार, स्पेन, ब्राजिल, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस र मेक्सिको हुँदै अवैध रूपमा अमेरिका पुर्‍याएका थिए ।

तर अमेरिका प्रवेश गरेलगत्तै अमेरिकी प्रहरीले अवैध प्रवेशको आरोपमा पीडितलाई पक्राउ गरेको थियो । उनी १४ महिनासम्म जेलमा बसेपछि २०८२ चैत २४ गते नेपाल डिपोर्ट भएका थिए । त्यसपछि पीडितले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानसँगको समन्वयमा खत्रीलाई सोमबार पक्राउ गरिएको हो । हाल काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा लोकमान खत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानमा यसअघि पनि ठगी मुद्दा दर्ता भएको खुलेको छ । उक्त मुद्दामा उनले तीन लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका थिए ।

प्रहरीले खत्रीले अन्य नेपाली नागरिकलाई समेत अमेरिका लगायत विभिन्न देश पठाइदिने नाममा ठगी तथा मानव तस्करी गरेको हुनसक्ने आशंकामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077