काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका तत्कालीन मेयर मोहनबहादुर बस्नेत विरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतको आंशिक सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार २०८२ असार ६ गते विशेष अदालतले दिएको निर्णय चित्तबुझ्दो नभएकाले बुधबार पुनरावेदन निवेदन पेश गरिएको हो ।
बस्नेतसहितका प्रतिवादीमाथि घुस–रिसवतमार्फत भ्रष्टाचार गरेको आरोपमा आयोगले करिब ९ करोड २२ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी कैद, जरिवाना र थप सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।
यस्तै, गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा बस्नेतमाथि करिब ८ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्ति असुल–उपर, कैद र जरिवानाको माग गरिएको थियो। आयोगले उक्त सम्पत्ति उनकी पत्नी उर्मिला बस्नेत को नाममा राखिएको दाबी गर्दै जफत प्रयोजनका लागि उनलाई समेत प्रतिवादी बनाएको थियो ।
तर विशेष अदालतले आंशिक रूपमा सफाइ दिएपछि आयोगले उक्त निर्णयमाथि असहमति जनाउँदै सर्वोच्च अदालतको ढोका ढक्ढक्याएको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा न्यायिक पुनरावलोकनमार्फत मुद्दाको अन्तिम टुंगो लगाउन पुनरावेदन गरिएको उल्लेख छ ।