काठमाडौं । सशस्त्र प्रहरीमा शनिबारदेखि नेतृत्व फेरिएको छ। चार वर्ष नेतृत्व गरेका राजु अर्यालले अवकाश पाएपछि उनकै ब्याचका नारायणदत्त पौडेलले सशस्त्र प्रहरीको नेतृत्व सम्हालेका छन् ।
शनिबारदेखि लागु हुने गरी पौडेललाई सरकारले आईजीपीमा नियुक्त गरेपनि उनले फुली भने लगाउन पाएका छैनन्। लगातारको सार्वजनिक बिदाका कारण सोमबार मात्र फुली लगाएर उनले पदभार ग्रहण गर्नेछन् ।
सेवानिवृत्त भएका अर्यालको कार्यकाल बाहिरी रुपमा सफल देखिएपछि भित्री रुपमा भने उनी पनि उनले ठुला काम गर्न नसकेको चर्चा सशस्त्र प्रहरीभित्र छ ।
उनको कार्यकालमा पनि सशस्त्र प्रहरीको खरिद विवादमुक्त हुन सकेन। विगतदेखि नै सिन्डिकेट चलाउँदै आएका ठेकदारहरूले नै बन्दोबस्तीका सामानमा हालीमुहाली जमाए। जसकारण सशस्त्र प्रहरीको हिमाली ज्याकेट खरिददेखि हतियार खरिदसम्मका विवाद बाहिर आए।
बिचौलिया दीपक भट्टको सेटिङमा शसस्त्र प्रहरीमा हतियार खरिदको लागि प्रतितपत्र समेत खोलिसकिएको थियो। यद्यपी अन्तिममा त्यो रद्द गरिएको थियो।
त्यस्तै, सशस्त्र प्रहरीको मुख्य भण्डारमै आगलागीका कारण पनि संगठन बदनाम भयो। कतिपयले अनियमितता लुकाउन आगलागी गरिएको त होइन भनेर प्रश्न उठेको छ। यद्यपी सो घटनालाई सामान्य छानबिन गरेर सामसुम बनाइयो।
सीमामा तस्करी नियन्त्रणमा पनि ठुलो प्रयास हुन सकेन। पटक पटक संस्थागत रुपमा सीमामा तस्करीको लाइन खुलेको स्रोत बताउँछ।
सरुवा बढुवामा पनि आइजीपी अर्यालले परिवर्तन गर्न सकेनन्। महिनामैंसम्म उच्च पदहरु खाली रहने अवस्था रह्यो। सरुवा बढुवामा राजनीतिक हस्तक्षेप उनले रोक्न सकेनन्।
बढुवामा आफ्ना निकटस्थलाई च्यापेको सशस्त्र प्रहरी अधिकृतहरू बताउँछन्। ‘चार वर्षको अवधिमा उहाँले धेरै गर्न सक्नुहुन्थ्यो,’ एक सशस्त्र प्रहरी भन्छन्,‘तर, निकटस्थहरुको मात्र घेरामा बस्ने भएकाले संगठनमा आमुल परिवर्तन ल्याउन सक्नुभएन ।’
नवनियुक्त आईजीपी पौडेल पनि औसत क्षमताका अधिकृत मानिन्छन् । उनी त विगतमा आर्थिक अनियमिततासम्बन्धि प्रकरणमा कारबाही समेत भोगेका अधिकृत हुन्।
जसकारण उनको कार्यकालमा संगठनमा सुधार भन्दा बिकृती बढ्न सक्ने आकलन धेरैले गरेका छन्। पौडेल आईजीपी भएसँगै सशस्त्र प्रहरीका बदनाम अधिकृतहरू हौसिएका छन्।
पौडेलमाथि जेनजी जाँचबुझ आयोगले कारबाही सिफारिस समेत गरेकाले उनको पद कुनै पनि बेला धरापमा पर्न सक्ने जोखिम समेत छ।