काठमाडौं । सरकारले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत कानुन संशोधन अघि बढाएको भन्दै विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्।
विपक्षी दलहरूले अध्यादेश फिर्ता लिएर तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका छन्।
बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको बैठकले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै सरकारद्वारा सिफारिस गरिएका अध्यादेशहरू स्वीकृत नगर्न अनुरोध गरेका हुन्।
'स्थगन गरिएको संघीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न जोडदार माग गर्दछौँ । अध्यादेशहरू अविलम्ब फिर्ता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ’,' बैठकपछि चारै दलका नेताहरूले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा लेखिएको छ।
विपक्षी दलहरूले संसद् अधिवेशन आह्वान भइसकेको अवस्थामा त्यसलाई स्थगन गरी अध्यादेशमार्फत कानुनी प्रक्रिया अघि बढाउनु गम्भीर असंसदीय अभ्यास भएको ठहर गरेका छन्। उनीहरूले यस्तो कार्यको घोर विरोध, निन्दा र भर्त्सना गर्ने निर्णय गरेको जनाएका छन्।
गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए ।
तर संसद् अधिवेशन चलिरहेका बेला अध्यादेश ल्याउन नमिल्ने भएपछि सरकारले रोकेको थियो।
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ ।