काठमाडौं । सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा झापाको दमकस्थित एक विद्यालयका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दमक नगरपालिका-२ स्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दया सागर आचार्यलाई प्रतिवादी बनाउँदै आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा विद्यालयमा नमुना भवन निर्माण कार्यका नाममा वास्तविक मुल्यांकनभन्दा बढी काम देखाएर झुटा कागजात तयार गरी दुवै जनाको आपसी मिलोमतोमा झण्डै १ करोड बराबरको भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।
आयोगले दायर गरेको आरोपपत्र अनुसार नमुना विद्यालय भवन निर्माण गर्दा खर्चभन्दा बढी बिल भर्पाइ बनाइ प्रअ र लेखापालले ५९ लाख २६ हजार ६८६ रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।
यसैगरी उनीहरूले विद्यालयको नाममा रहेको १७ लाख ९६ हजार ५२१ नगद पनि हिनामिना गरेको उल्लेख छ ।
साथै आर्थिक वर्ष २०७७/७८ देखिकै १६ लाख ६० हजार १०१ रुपैयाँ बेरुजु रकम समेत हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ ।
आयोगका अनुसार सार्वजनिक सम्पत्ति सम्बन्धी कसुरमा संलग्न भएको ठहर गर्दै उनीहरूमाथि कानुनी कारबाहीका लागि अदालतमा मुद्दा अघि बढाइएको हो ।