काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले काठमाडौंमा नदी किनारका सुकुमवासी बस्ती हटाउने क्रममा नेपाली सेनाको उपस्थिति देखिएको भन्दै कडा आपत्ति जनाएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले वर्तमान शासनको शैलीमाथि प्रश्न उठाउँदै यसलाई ‘सैनिक शासन’तर्फ उन्मुख भएको संकेत गरेका हुन् ।
उनले लेखेका छन्, 'नेपाली सेना किन बाटोमा निस्केकोरु सदनले अनुमोदन गरेर निस्केको होरु कि यो शासन सैनिक शासन हो ?'
उनले सीमाको सुरक्षामा खटिनुपर्ने सेनालाई सुकुमवासी बस्ती हटाउने कार्यमा देखिनु गम्भीर र आपत्तिजनक विषय भएको टिप्पणी गरे ।
'सिमानामा खट्नुपर्ने सेना सुकुमवासी बस्तीतिर देखापर्नु भनेको आपत्तिजनक कुरा हो,' उनले भने। काठमाडौं महानगरपालिकाले नदी किनारका अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र बनाइरहेको छ।
यही क्रममा सुरक्षाका लागि सेना समेत परिचालन गरिएको दृश्य सार्वजनिक भएपछि राजनीतिक बहस चर्किएको छ ।