महोत्तरी । सरकारले अतिक्रमित बस्तीमा डोजर चलाउने तयारी थालेपछि महोत्तरीको बर्दिबास-३ कालापानीका स्थानीयले प्रदर्शन गरेका छन्।
सडक बन्द गरेर आन्दोलनमा उत्रिएका स्थानीयहरुले गएराति डिभिजन वन कार्यालय महोत्तरीको गाडीमा आगजनी समेत गरेका छन्।
महोत्तरी प्रहरीका अनुसार, सोमबार दिउँसो वन कार्यालयको टोलीले बर्दिबास नगरपालिका–३ मा अव्यवस्थित बसोबास खाली गराउन सूचना दिएको थियो । त्यसपछि स्थानीयले राति बीपी राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए।
सोही क्रममा आक्रोसित भएका स्थानीयले सोमबार राति नै वनको एउटा गाडीमा आगो लगाएका हुन् ।
रुख ढालेर अवरुद्ध भएको बाटो खुलाउन गएको प्रहरीसहित वन कार्यालयको टोलीलाई स्थानीयले घेराबन्दी गरेका थिए ।
डिभिजन वन कार्यालयका अनुसार, राजावास, कालापानी, वरडाँडालगायत क्षेत्रमा करिब एक हजार १०० हेक्टर वन क्षेत्र अतिक्रमण गरी घरटहरा निर्माण तथा खेतीपाती गरिँदै आएको छ ।
वन कार्यालयले उक्त क्षेत्र खाली गराउन प्रक्रिया अघि बढाएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् । मंगलबार फेरि स्थानीय प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सडकमा काठका मुढा राखेर बीपी राजमार्ग अवरुद्ध गरेका छन् ।
उक्त क्षेत्रमा यातायात अवरुद्ध भएपछि अहिले स्थानीय र महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहितको टोलीबीच सहमतीको लागि वार्ताको प्रयास हुँदैछ ।