काठमाडौं । नेपाली सेनाले सेना तथा सेनाको नेतृत्वसँग सम्बन्धित तथ्यहीन तथा भ्रामक अभिव्यक्ति सार्वजनिक नगर्न आग्रह गरेको छ।
सैनिक मुख्यालय जंगी अड्डाले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आधिकारिक जानकारीमा मात्र विश्वास गर्न आग्रह गरेको हो।
जंगी अड्डाले विज्ञप्तिमार्फत पछिल्ला दिनमा देखिएका अराजक र गैरकानुनी गतिविधिहरूमाथि नियमित निगरानी भइरहेको जानकारी दिँदै त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याइने स्पष्ट पारिएको छ।
'विगत केही समयदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा नेपाली सेना तथा नेतृत्वलाई उल्लेख गरी प्रसार भएका तथ्यहिन सूचना एवं अभिव्यक्ति सेनाको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता कपोकल्पित समाचारहरूले आम नागरिकमा भय उत्पन्न गर्ने हुँदा त्यस्ता भ्रामक समाचार प्रसार नगर्न÷नगराउनु हुन अनुरोध गरिन्छ,' विज्ञप्तिमा भनिएको छ।'
सेनाले नागरिकलाई अफवाह र द्वेषपूर्ण टिप्पणीमा विश्वास नगर्न आग्रह गर्दै आधिकारिक सूचनाका लागि नेपाली सेनाको प्रेस विज्ञप्ति, आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत प्रकाशित जानकारी मात्र आधार मान्न समेत अनुरोध गरेको छ।