काठमाडौं । गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।
विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी रहेको कम्पनीमा आफ्नो पनि सेयर रहेको तथ्य सार्वजनिक भएसँगै गृहमन्त्री गुरुङ चौतर्फी आलोचना खेपिरहेका छन् ।
भट्टसम्बद्ध स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात आइतबार सार्वजनिक भएको थियोे ।
अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार हुँदा अनुसन्धान प्रभावित हुने भनी उनीमाथि पदबाट राजीनामा दिनुपर्ने दबाब पनि बढ्दै गएको छ ।
उक्त विषयलाई लिएर राजीनामा दिनुपर्ने दबाब बढ्दै गएका बेला गृहमन्त्री गुरुङ प्रधानमन्त्री बालेन भेट्न मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन् ।
यसैबीच मंगलबार मन्त्री गुरुङले नेपाल प्रहरीका आइजीपी, गृहसचिव, काठमाडौंका प्रमुख जिल्ला अधिकारी लगायतसँग झन्डै ५ घण्टा छलफल गरेका थिए ।
चौतर्फी आलोचना खेपिरहेका गृहमन्त्री गुरुङ यसअघि पार्टी सभापति रवि लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए ।
त्यसअघि पनि आफूमाथि पार्टीको सम्भावित ‘एक्सन’ लाई लिएर गृहमन्त्री गुरुङ आइतबार राति नै रास्वपा सभापति रवि लामिछानेलाई भेट्न उनकै निवास बुढानीलकण्ठ गएका थिए ।
राती झन्डै २ घण्टा बुढानीलकण्ठमा बसेका गृहमन्त्री गुरुङलाई सभापति लामिछानेले लामिछानेले सोमबार पार्टीको बैठक बस्ने र आफ्नो कुरा बैठकमै राख्न सकिने जवाफ दिएका थिए ।
यद्यपी गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा कुनै छलफल भएको छैन ।
गृहमन्त्री गुरुङले भने सोमबार सामाजिक सञ्जालमार्फत आफूमाथि लागेको आरोपबारे छानबिनका लागि सघाउन तयार रहेको भन्दै स्पष्टीकरण दिएका छन् ।
गृहमन्त्री गुरुङ र प्रधानमन्त्री बालेनको छलफलमा कुन विषयमा छलफल हुने भन्ने बारे केही खुलाइएको छैन । यद्यपी गृहमन्त्री गुरुङकै राजिनामा बारे छलफल हुन सक्ने संकेत गरिएको छ ।