काठमाडौं । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई तीन दिने स्पष्टीकरण सोधेको छ ।
आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले तामाङलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो ।
कान्छारामले बोलेको एक विवादास्पद भिडियोको क्लिप हालै सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडियोमा ‘शेरबहादुरले जित्यो भने गगनले पार्टी फुटाउँछ, बरु त्यसले जितोस् न । उ सँग पैसा टन्नै छ । उससँग अहिले ३ अर्ब पैसा छ । एक अर्ब पैसा अस्ति खर्च भयो, २ अर्ब अझै बाँकी छ भनिएको छ ।
जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पार्टीको पदीय मर्यादा ख्याल नगरी पार्टी र पार्टी नेतृत्वविरुद्ध बदनियत राखेर भ्रमणपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै केन्द्रीय अनुशासन समितिले तीन दिने स्पष्टीकरण सोधेको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिए ।
यसअघि आफूलाई कार्यवाहक सभापतिकै हैसियतमा राखेर विज्ञप्ति जारी गरेको भन्दैअनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।