'विचारले जितेको तर कांग्रेसीले हारेको स्थिति छ, एकता र सहकार्यको विकल्प पनि छैन'
काठमाडौं । नेपाली कांग्रेसकी निवर्तमान केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले पार्टीको साधारण सदस्य मात्रै रहने घोषणा गरेकी छन् ।
आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा पक्षमा फैसला गरेपछि शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो घोषणा गरेकी हुन् ।
'आज हामी अत्यन्तै कठिन मोडमा छौँ, विचारले जितेको तर कांग्रेसीले हारेको स्थिति छ, एकता र सहकार्यको विकल्प पनि छैन । कांग्रेसी साथीहरू म सधैँ ऋणी छु र रहिरहने छु, तिनपल्ट केन्द्रीय सदस्यमा मलाई निर्वाचित गराउनुभएको छ । आजदेखि कांग्रेसको साधारण सदस्य मात्र रहेर तपाईंहरुले लगाएको ऋण तिर्न हरपल मेरो प्रयास रहने,' उनले लेखेकी छन् ।
उनले बीपी कोइराला, गिरिजा प्रसाद कोइराला र शेरबहादुर देउवाहरूले पार्टीलाई एकजुट बनाउन गरेको त्यागको स्मरण गर्दै अत्यन्तै कठिन मोडमा रहेको कांग्रेसमा एकता र सहकार्यको विकल्प नरहेको समेत बताएकी छन् ।
साथै अदालतले विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता प्रदान गर्दै कांग्रेस विवादको न्यायिक टुङ्गो लगाए पनि दुई खेमामा विभाजित कांग्रेसी साथीहरूको मन कसरी जोडिन्छ भन्ने कुरा भविष्यले र्निधारण गर्ने पनि उनले बताएकी छन् ।