काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलका नेता छान्न आज पनि छलफल हुँदैछ ।
शुक्रबार दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलको नेताबारे छलफल भएको निष्कर्षमा पुग्न सकेको थिएन ।
सहमतिका लागि आज फेरि बैठक बस्न लागेको निर्वाचन समितिका संयोजक एवम् कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी गराएका हुन् ।
यसअघि संयोजक रसाइलीले च्रत ४ गते दलको नेता चयन गर्ने कार्यतालिका रहेको र चैत २ मै निर्वाचन कार्यतालिका प्रकाशित हुने जानकारी गराएका थिए ।
तर, कांग्रेसले हालसम्म निर्वाचन कार्यतालिका ल्याएको छैन । गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा सभापति गगन थापासहित सबै शीर्ष नेता पराजित भएपछि दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, निस्कल राईलगायतको दाबेदारी रहेको छ।
संसदमा प्रतिनिधित्व भएका रास्वपा, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृत पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन्।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता चयन भएर प्रधानमन्त्री बनिसकेका छन् भने एमालेले रामबहादुर थापा बादललाई दलको नेता चुनिसकेको छ। नेकपाले पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राप्रपामा ज्ञानेन्द्र शाही दलको नेता चयन भएका छन्।
प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन। कांग्रेसले सर्वसम्मत दलको नेता चयन गर्ने प्रयास गरिरहेको छ ।सहमति नजुटे निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउने तयारी छ। प्रतिनिधिसभामा कांग्रेसका सामानुपातिक र प्रत्यक्षमा गरी ३८ सांसद छन् ।