Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको वैध स्रोतबारे स्पष्ट पार्न सरकारसँग कांग्रेसको माग

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको वैध स्रोतबारे स्पष्ट पार्न सरकारसँग कांग्रेसको माग

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्तिको वैध स्रोतबारे स्पष्ट पार्न सरकारसँग कडा माग गरेको छ।

सार्वजनिक पदमा पुगेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नु कानुनी दायित्व भए पनि त्यसअघि आर्जित सम्पत्तिको स्रोत खुलाउनु सम्बन्धित व्यक्तिहरूको नैतिक जिम्मेवारी भएको कांग्रेसको ठहर छ।

कांग्रेसले २०४८ सालयता सार्वजनिक पदमा रहेका उच्च तहका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न, स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग दोहोर्‍याएको छ।

अवैध रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्न र २०४६ देखि २०८२ सम्मका भ्रष्टाचारसम्बन्धी सबै प्रकरणको अनुसन्धान गर्नुपर्नेमा पनि उसले जोड दिएको छ।

सरकारले हालै सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएकोप्रति सकारात्मक संकेत देखाए पनि कांग्रेसले त्यसको दायरा २०६२ अघिसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

तर, मन्त्रिपरिषद्को निर्णयबाट मात्रै आयोग गठन गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

यस्तो आयोग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्दा कार्यपालिकाको हस्तक्षेप बढ्ने र निष्पक्षतामा असर पर्ने उसको चेतावनी छ। आयोग पूर्ण रूपमा स्वायत्त र स्वतन्त्र हुनुपर्नेमा कांग्रेसले विशेष जोड दिएको छ।

कांग्रेसका अनुसार हालको संरचनाले अपेक्षित स्वायत्तता सुनिश्चित गर्न सक्दैन, जसका कारण आयोगको विश्वसनीयता र कार्यशैली नै विवादमा पर्न सक्ने जोखिम रहेको छ।

यसैबीच, कांग्रेसले आफू संसदमा प्रमुख प्रतिपक्षको रूपमा सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रभावकारी भूमिका निर्वाह गर्ने स्पष्ट पारेको छ।

लोकतन्त्र, गणतन्त्र, संघीयता, विधिको शासन, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताजस्ता मूल्यमान्यतामा कुनै सम्झौता नगर्ने उसको अडान छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077