काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
बुधबार पार्टी सभापति गगन थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघिदेखि बैठक सुरु भएको हो ।
बैठकमा संसदीय दलको नेता चयन, क्रियाशील सदस्यतालगायत विषयमा छलफल हुने बताइएको छ ।
यस्तै बैठकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल संयोकत्वको समितिले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथिको अध्ययन प्रतिवेदन बुझाउने छ ।
कांग्रेसले चैत १९ गते जेनजी आन्दोलनका घटनाका जाँचबुझ गर्न बनेको कार्की आयोगको प्रतिवेदन अध्ययन गरी राय–सल्लाह–सुझावसहितको प्रतिवेदन बुझाउन खनालको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो ।
आजै कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक पनि बसेको थियो ।
उक्त बैठकले समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा कारबाही स्वरुप निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
जसअनुसार खड्काले अनुशासन समितिलाई सात दिनभित्र स्पष्टीकरण दिन भनेको छ ।