काठमाडौं । नेपाली कांग्रेसले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको छ।
आज बसेको अनुशासन समितिको बैठकले खड्कालाई कारबाही स्वरुप ७ दिने स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो ।
केहिदिन अघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणसँग सम्बन्धित विषयमा खड्काले पार्टीको लेटरप्याड प्रयोग गरी विज्ञप्ति जारी गरेका थिए ।
त्यसपछि चैत १८ गते बसेको अनुशासन समितिले उनलाई सचेत गराउने निर्णय गरेको थियो ।
समिति बैठकले लेटरहेडको दुरुपयोग दोहोरिएमा पार्टी विधान २०१७ (संशोधनसहित) र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
यसैगरी खड्काले सोमबार पनि कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टीको क्रियाशील सदस्यता खारेज भएको घोषणाप्रति आपत्ति जनाएका थिए ।
समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा खड्कामाथि कारबाही स्वरुप स्पष्टीकरण सोधिएको हो ।
तत्कालीन महामन्त्री गगन थापा समुहले गत पुस अन्तिम साता विशेष महाधिवेशन आयोजना गरेको थियो ।
विशेष महाधिवेशनले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमिति भंग गरेर थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
तर खड्का भने आफूलाई कार्यवाहक सभापतिकै हैसियतमा राखेर विज्ञप्ति जारी गर्दै आएका छन् ।