काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पाले ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण गरेकी छिन् । उनले २०८३ वैशाख १ गते मंगलबार बिहान ८ः५७ बजे हिमालको चुचुरोमा पाइला टेकेकी हुन्।
सशस्त्र प्रहरीका अनुसार यो उपलब्धिसँगै शेर्पा सशस्त्र प्रहरी बलकी पहिलो महिला कर्मचारी बनेकी छिन् जसले हिमाल आरोहण सफलतापूर्वक सम्पन्न गरेकी हुन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने अभियानमा रहेकी उनले यसै सिजनमा सगरमाथासहित ल्होत्से हिमाल आरोहण गर्ने तयारीसमेत गरेकी छिन्।
यसअघि उनलाई संगठनको झण्डा प्रदान गर्दै औपचारिक रूपमा बिदाइ गरिएको थियो।
यसैबीच, सशस्त्र प्रहरी बलबाट यसअघि सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक दन्त बहादुर छन्त्यालले समेत सगरमाथाको सफल आरोहण गरिसकेका छन्।