'पूराना राजनीतिक दल र नयाँ राजनीतिक दलका साइनबोर्डहरू फरक–फरक भएता पनि सिद्धान्त र विचारको नाभी एउटै '
काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपाको व्यवहारले ‘राजनीतिमा आश्वासन र धोका जायज हुँदो रहेछ’ भन्ने ज्ञान पाएको बताएका छन्।
उपसभामुख निर्वाचन प्रक्रिया चलिरहँदा प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले रास्वपाका सभापति रवि लामिछानेप्रति कटाक्ष गर्दै यस्तो बताएका हुन्।
उपसभामाुखमा रास्वपाले नै प्रस्ताव गरेपछि उम्मेदवारी दिएको तर, पछि रास्वपाले अर्कै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको भन्दै उनले आक्रोश पोखे।
एक थान उपसभामुख पद प्राथमिकता नरहेको उल्लेख गर्दै उनले भने- ‘'तथापि संसद्को सबैभन्दा ठूलो दलबाट प्रस्ताव आएपछि, अन्य पूराना राजनीतिक दल र हामी परिवर्तन खोज्ने राजनीतिक दल बीचको ध्रुवीकरणको सम्भावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने टुंगोमा पुगेका थियौं ।'
बिहीबार रास्वपा सभापति लामिछानेले राप्रपालाई उपसभामुख बनाउन आश्वासन पाएको शाहीले बताएका थिए। तर रास्वपा संसदीय दलको बैठकले श्रमसंस्कृति पार्टीकी उम्मेदवारका पक्षमा मतदान गर्ने निर्णय गरेपछि शाहीले आक्रोश पोखेका हुन्।
उनले थप भने- 'हिजो पूराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरू फरक–फरक भएता पनि उनीहरू बीचको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको छ ।'
संसदमा अहिले उपसभामुख निर्वाचन प्रक्रिया चलिरहेको छ। श्रमसंस्कृतिबाट रुबीकुमाारी यादव उम्मेदवार छिन् भने राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ।