काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले युवाहरूमा देखिएको अन्धभक्ति र व्यक्ति पूजाको प्रवृत्तिले लोकतान्त्रिक चेतना कमजोर बनाउने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले प्रधानमन्त्रीको जिम्मेवारीबारे नै स्पष्ट नबुझ्ने युवाहरू कसरी सचेत नागरिक बन्न सक्छन् भन्ने प्रश्न उठाएका हुन्।
उनले लेखेका छन्, 'प्रधानमन्त्रीको जिम्मेवारी नै के हो भन्ने नबुझ्ने युवाहरू कसरी सचेत नागरिक बन्न सक्छन् ? व्यक्ति पूजा र अन्धभक्तिको प्रवृत्तिले नै इतिहासमा भदौ २३–२४ जस्ता घटना जन्माएका हुन्।'
शाहीका अनुसार संसद् कमजोर भए प्रजातन्त्र कमजोर हुने र प्रजातन्त्र कमजोर भए जनताको आवाज कमजोर हुने अवस्था सिर्जना हुन्छ।
उनले भने, 'संसद् कमजोर भयो भने प्रजातन्त्र कमजोर हुन्छ, र प्रजातन्त्र कमजोर भयो भने जनताको आवाज कमजोर हुन्छ। जनताको आवाज कमजोर भयो भने विकास कमजोर हुन्छ, सुशासन कमजोर हुन्छ।'
उनको भनाइमा लोकतान्त्रिक संस्थाहरू सुदृढ नभएसम्म विकास र सुशासन सुनिश्चित हुन नसक्ने चेतावनी समेत समावेश छ।