काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदमा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समर्थन गर्ने भएको छ ।
रास्वपाले उपसभामुख पदमा विपक्षी कुन दललाई सहयोग गर्ला भन्ने चर्चाबीच सो पार्टीले राप्रपालाई सघाउने भएको हो ।
रास्वपा सभापति रवि लामिछानेले आज राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलाई फोन सम्पर्क गरी उपसभामुख सहयोग गर्ने वचन दिएको शाहीले पुष्टि गरेका छन् ।
‘रास्वपा सभापति रवि लामिछानेजीले फोन गरेर उपसभामुख पदमा तपाईंहरू उम्मेदवारी दिनुस्, हाम्रो समर्थन रहन्छ भन्नुभएको छ,’ शाहीले भने ।
रास्वपा उपसभापति डोलप्रसाद अर्याल चैत २२ गते सभामुखमा निर्विरोध निर्वाचित भइसकेका छन् ।
अब उपसभामुखमा अरु दलका महिला सांसदले मात्रै उम्मेदवारी दिन पाउनेछन् ।
संविधानतस् सभामुख र उपसभामुख फरक–फरक दल र फरक–फरक लिंगको हुनुपर्छ । संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सांसदसहित सहज एकल बहुमतमा छ । कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् ।
उपसभामुखमा एमालेबाहेकका दलले दाबी गरेका छन् । तर संसदको अंकगणितले रास्वपाले जसलाई समर्थन गर्यो उसैले उपसभामुख पाउनछ ।
सोहि अनुसार उपसभामुखमा बनाउन रास्वपाले राप्रपालाई सहयोग गर्ने भएको हो ।
सोहि सन्दर्भमा केहिदिन अघि मात्रै नेता शाहीले रास्वपा सभापति लामिछानेलाई बुढानिलकण्डस्थित निवासमै पुगेर कुराकानी गरेका थिए ।
राप्रपाबाट प्रतिनिधि सभामा ५ जना सांसद छन् । राप्रपाले सरस्वती तामाङलाई उपसभामुख उम्मेदवार बनाउने तयारी गरेको छ ।
आज उपसभामुख पदका लागि मनोनयन हुँदैछ । प्रतिनिधिसभाको उपसभामुखका लागि बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारीको समय तोकिएको छ ।
यसैबीच उपसभामुख पदमा राप्रपाकी समानुपातिक सांसद सरस्वतीले उम्मेदवारी दर्ता गराएकी छन् । उपसभामुखको निर्वाचन भोलि शुक्रबार हुँदैछ ।
अन्तिममा शाहीको दावी गलत ठहरिएको छ । उपसभामुख चयनको सन्दर्भमा राजनीतिक समीकरण फेरिएको छ। रास्वपाले यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समर्थन गर्ने निर्णय गरेको भन्दै शाहीले दावी गरेका थिए । तर, रास्वपाले अन्तिममा निर्णय बदलेर श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने जनाएको छ ।