Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभाका चार समिति सभापति निर्विरोध चयन

राष्ट्रिय सभाका चार समिति सभापति निर्विरोध चयन

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । राष्ट्रिय सभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् ।

गत फागुन २० गतेदेखि ती समितिका सभापतिको पद रिक्त रहेका थिए ।

रिक्त रहेका ४ वटै समितिमा सभापतिका लागि सङ्घीय संसद् सचिवालयले उम्मेदवारी मनोनयन गर्ने समय तोकेको थियो । 

मनोनयनका लागि तोकिएको समयमा एक/एक जनाको उम्मेदवारी परेकाले सबै समिति सभापति निर्विरोध निर्वाचित भएका हुन्। 

निर्विरोध निर्वाचित हुनेहरूमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया रहेको राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले जानकारी दिए ।

चौधरीको प्रस्तावकमा मदनकुमारी शाह (गरिमा), समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला, राईको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा, समर्थकमा दुर्गाकुमारी गुरुङ रहेका छन् । यस्तै, पौडेलको प्रस्तावमा नारायणदत्त भट्ट, समर्थकमा जगत तिमिल्सना तथा रोकायाको प्रस्तावकमा आनन्दप्रसाद ढुंगाना र समर्थकमा गीता देवकोटा रहेका छन् । 

प्रतिनिधिसभाको चुनावमा रास्वपाले दुई तिहाइ बहुमत ल्याए पनि संसदको माथिल्लो सदन राष्ट्रियसभामा भने प्रतिनिधित्व छैन्। सोहि कारण चुनावमा बढारिएका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालले समितिका सभापति र उपसभापतिमा भागबण्डा गरेका थिए ।

भागबण्डामा एमालेले सभाको उपाध्यक्ष पाएको थियो । उपाध्यक्षमा एमाले सांसद लीला भण्डारी निर्विरोध भएकी छन् । उनले पद तथा गोपनीयताको शपथ लिएर पदभारसमेत ग्रहण गरिसकेकी छन् ।

त्यस्तै कांग्रेसले २, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालले १/१ समिति सभापति पाउने दलहरूबिच सहमति भएको थियो । त्यही अनुसार आज समिति सभापतिहरूमा १/१ जनाको मात्रै उम्मेदवारी परेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077