काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारीको शपथ लिएकी छन्।
शीलतनिवासमा आयोजित शपथ समारोहमा अध्यक्ष नारायण दाहालले भण्डारीलाई शपथ दिलाएका हुन् ।
राष्ट्रियसभामा रहेका दलहरूबीच सहमतिपछि एमालेको तर्फबाट भण्डारी सहमतिमै उपाध्यक्ष चयन भएकी थिइन्।
शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, सभामुख डीपी अर्यालसहित उच्चपदस्थ सहभागी थिए।
तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।
रिक्त उपाध्यक्ष पदका लागि उम्मेदवारी दिन आइतबार २ः३० देखि ३ः३० बजेसम्मको समय दिइएको थियो ।
मनोनयन दर्ताका लागि तोकेको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो । भण्डारीको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल थिए ।
यस्तै, समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह रहेका थिए ।
प्रतिनिधिसभाको चुनावमा रास्वपाले दुई तिहाइ बहुमत ल्याए पनि संसदको माथिल्लो सदन राष्ट्रियसभामा भने प्रतिनिधित्व छैन्। सोहि कारण चुनावमा बढारिएका कांग्रेस, एमाले र नेकपाले राष्ट्रियसभामा सहमतिका साथ अघि बढ्ने निर्णय गरेका थिए ।
जसअनुसार दलहरुबीच एमालेकी भण्डारीलाई अघि बढाउने सहमति भएको थियो ।