काठमाडौं । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
पेट्रोलियम आपूर्तिमा सहजताका लागि यही चैत २३ गतदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
उनका अनुसार शैक्षिक संस्था बाहेक सरकारी कार्यालयहरु बिहान ९ बजेबाट साँझ ५ बजेसम्म खुला रहनेछन् ।
यसैगरी सरकारले डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको उनले बताए।
सरकारले राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ।
यस्तै सरकारले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय शिक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।