काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादबारे आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।
यो मुद्दा आजको पेसी सूचीको १२ औँ नम्बरमा छ।
गत २७ देखि ३० पुससम्म कांग्रेसको एक पक्षले विशेष महाधिवेशन आयोजना गरी गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । सो विशेष महाधिवेशनलाई मान्यता दिँदै निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि संस्थापन पक्ष सर्वोच्च पुगेको थियो ।
सो निर्णयको विपक्षमा रहेका पूर्व उपसभापति पूर्णबहादुर खड्कासहित प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायत नेताहरूले सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए।
रिट निवेदनमा भनिएको छ- ‘नेपाली कांग्रेसको विधानको गलत व्याख्या गरी निर्णय गरिएको छ । ०८३ वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशनको कार्यतालिका प्रकाशित भई सोअनुसार प्रक्रिया अगाडि बढिरहेको अवस्थामा आवश्यक प्रमाण नबुझी अवैधानिक समितिलाई आधिकारिक ठहर गर्दै निर्वाचन आयोगले २०८२ माघ २ गते गरेको निर्णय गैरसंवैधानिक तथा गैरकानुनी छ । सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी हाल कायम कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिलाई यथावत् काम–कारबाही गर्न दिन परमादेश जारी गरिपाऊँ ।’
यसअघि गत चैत १ गतेका लागि पेसी तोकिए पनि पालो नआएका कारण सुनुवाइ सरेको थियो। त्यस दिन सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।
तत्कालीन समयमा रिट निवेदकका तर्फबाट पूर्व उपसभापति खड्का बहसका लागि अदालत पुगेका थिए। आजको सुनुवाइका लागि दुवै पक्षका नेताहरू सर्वोच्च पुग्ने तयारीमा छन्। वर्तमान उपसभापति शर्मा आफैँ बहसका लागि अदालत जाने जनाइएको छ।
आजको सुनुवाइले कांग्रेसभित्रको यो कानुनी र राजनीतिक विवादलाई कुन दिशा दिने भन्नेमा सबैको चासो रहेको छ।