काठमाडौं । नेकपा एमालेका सचिव डा. राजन भट्टराई ले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रास्वपाले निर्वाचनमा ल्याएको चामत्कारिक परिणाम सामान्य घटना नभएको उल्लेख गरे।
'रास्वपा किन शक्तिशाली बन्यो भन्ने विषय अब अध्ययन र समीक्षा गर्नैपर्छ,'भट्टराईले भने, 'यसबाट नेपाली राजनीतिको बदलिँदो मनोविज्ञान बुझ्न सकिन्छ।'
परराष्ट्रविद् समेत रहेका उनले पछिल्लो समय मुलुकमा भूराजनीतिक संवेदनशीलता तीव्र रूपमा बढ्दै गएको भन्दै दलहरूबीच राष्ट्रिय एकता कायम गरेर अघि बढ्न ढिलाइ गर्न नहुनेमा जोड दिए।