काठमाडौं । ६ दिनदेखि त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको छ।
अस्पताल स्रोतका अनुसार परीक्षणका लागि पठाइएका रिपोर्ट प्राय: नर्मल आउन थालेका छन्।
गत भदौ २३ गतेको जेनजी आन्दोलनमा दोषी ठहर गर्दै ओलीलाई गत शनिबार भक्तपुरको गुण्डुस्थित निजी निवासबाट ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
तर त्यसवेला मुटुको चालमा गडबडी लगायतका समस्या देखा परेपछि चिकित्सकले भर्ना गर्नुपर्ने बताएका थिए।
त्यस यता ओलीलाई टिचिङ अस्पतालको एनेक्स २ को ५०१ क्याबिनमा भर्ना गरी राखिएको छ।
मुटुको समस्यामा क्रमिक रूपमा सुधार हुँदै गएपनि युरिन कल्चरको रिपोर्टमा पिसाबको संक्रमण देखिएको छ।
दुईपटक मिर्गौला प्रत्यारोपण गरिएका बिरामीलाई युरिन इन्फेक्सन हुनु निकै संवेदनशील रूपमा लिने गरिन्छ। त्यसैले अझै केही दिन ओलीलाई आफ्नै निगरानीमा उपचार गरिने योजना चिकित्सकहरूले बनाएका छन्।
यसकारण अहिले उनलाई चिकित्सकहरूको निगरानीमा ‘एन्टिबायोटिक्स’ चलाइएको छ।
यस्तै ओलीलाई पित्तथैलिको पत्थरी पनि देखिएको छ । पत्थरीको शल्यक्रियाको लागि भने अब पठाइने ल्याब रिपोर्टमा भर पर्ने स्रोतले जनाएको छ ।