काठमाडौं । नेपाली कांग्रेसले आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई प्रशिक्षण दिने निर्णय गरेको छ ।
बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यही चैत १४ गते प्रशिक्षण नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण दिने निर्णय गरेको हो।
नवनिर्वाचित सांसदहरूलाई कांग्रेसले अभिमुखीकरण गराउन लागेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
सांसदहरूलाई संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञाबारे अभिमुखीकरण दिने उनले बताए। दुलालका अनुसार अभिमुखीकरण पार्टी कार्यालय सानेपामा हुने छ।
कांग्रेसबाट गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा ३८ र माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट ९ जना सांसद निर्वाचित भएका छन्।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी पनि आफ्ना नवनिर्वाचित सांसदहरुलाई दुई दिन प्रशिक्षण गराएको थियो ।