पोखरा । सहकारी ठगीविरुद्ध आन्दोलन र कानुनी लडाइँमा अग्रपंक्तिमा देखिएका कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी काण्डमा जीवी राई र रवि लामिछाने लगायतविरुद्ध जाहेरी दिने जैसी अहिले धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणका प्रमुख योजनाकारका रूपमा प्रहरी नियन्त्रणमा पुगेका हुन्।
गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले आइतबार जिल्ला प्रहरी कार्यालय कास्की लाई दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
सहकारीमा भएको ठूलो आर्थिक हिनामिनाबारे वित्तीय विश्लेषक निर्मल गौतम को प्रतिवेदनपछि थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरिएको थियो।
प्रारम्भिक अनुसन्धानमै धनुष सहकारीमा १९ करोड १८ लाख रुपैयाँ हिनामिनाको विवरण सार्वजनिक भएको थियो। त्यसपछि प्रक्रिया अघि बढाइए पनि हालसम्म ६ करोड रुपैयाँ मात्र असुल हुन सकेको छ भने १२ करोड ५६ लाख रुपैयाँ अझै उठ्न बाँकी रहेको रजिस्ट्रार कार्यालयले जनाएको छ।
प्रहरीले जैसीसँगै अन्य ४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। लामो समयदेखि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिँदासमेत रकम शोधभर्ना नभएपछि अन्ततः अनुसन्धानका लागि मुद्दा अगाडि बढाइएको हो।