अत्तरिया । कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा अस्थायी ट्राफिक प्रहरी पोस्टका लागि नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले सोमबार एक कार्यक्रमबीच दुई कोठे भवन उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदम बहादुर विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रेम बहादुर शाहीलगायत सुरक्षा निकायका प्रमुख, प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी रानाले नयाँ भवनले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउने र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने विश्वास व्यक्त गरे ।
उनले भने, 'सुविधासम्पन्न भवनले प्रहरीमा थप जोश, जाँगर र ऊर्जा थप्छ । यसले नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनेछ ।'
उनले प्रहरी कर्मचारीलाई कानून कार्यान्वयनमा कुनै सम्झौता नगर्न र ट्राफिक व्यवस्थापनमा स्थानीय तह तथा नागरिक समाजसँग सहकार्य गरेर अघि बढ्न निर्देशनसमेत दिए ।
रानाले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने सूर्योदय सामुदायिक वन समिति, विभिन्न उपभोक्ता समिति, निर्माण व्यवसायी, संघ–संस्था, बजार व्यवस्थापन समिति, अटो व्यवसायी तथा स्थानीयवासीप्रति आभार व्यक्त गर्दै सामुदायिक सहकार्यको उत्कृष्ट उदाहरण भएको उल्लेख गरे ।
स्थानीयको सक्रिय सहयोगमा निर्माण गरिएको उक्त भवन स्याउले अस्थायी ट्राफिक प्रहरी पोस्टका इन्चार्ज प्रहरी हवल्दार वीर बहादुर विष्टको पहलमा सम्भव भएको हो ।
स्थानीयले नगद तथा जिन्सी सहयोग जुटाउँदा करिब ८ लाख ८१ हजार रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको एसपी शाहीले जानकारी दिए । भवन निर्माणमा योगदान पुर्याउने व्यक्तिहरूलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो ।
साथै, सहयोग संकलनमा अहोरात्र खटिएको भन्दै इन्चार्ज विष्टको विशेष प्रशंसा गरिएको छ । नयाँ भवन निर्माणसँगै अब सेवा प्रवाह थप सहज, व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।