Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रहरी सक्रिय : एक महिनामै ५२४ फरार प्रतिवादी पक्राउ, डेढ करोड जरिवाना असुल

सुदूरपश्चिम प्रहरी सक्रिय : एक महिनामै ५२४ फरार प्रतिवादी पक्राउ, डेढ करोड जरिवाना असुल

आइतवार , पौष ६, २०८२

धनगढी । सुदूरपश्चिममा एक महिनाको अवधिमा ५२४ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

आइतबार प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डीआईजी) ओमबहादुर रानाले सो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

डीआईजी रानाका अनुसार मंसिर महिनामा विभिन्न कसुरमा २५६ वटा मुद्दा दर्ता भएका छन्, जसमा चालु मुद्दाका २१४ प्रतिवादी पक्राउ परेका छन् ।

सार्वजनिक चासोका २ हजार ५३८ पेन्डिङ मुद्दामध्ये ११४ मुद्दा फछ्र्यौट गरिएको छ । साथै फैसला कार्यान्वयनका क्रममा रहेका ५२४ जना फरार प्रतिवादी पक्राउ गरिएको उनले बताए । उनीहरूबाट एक करोड ६१ लाख ९९ हजार २९१ रुपैयाँ जरिवाना असुल गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी २८ मुद्दा दर्ता भएका छन् । घरेलु हिंसातर्फ परेका ८० उजुरीमध्ये ६५ उजुरी मिलापत्रबाट टुंग्याइएका छन् भने ८ उजुरी अदालत पठाइएको छ। यसैगरी ८११ वटा ठाडो उजुरीमध्ये ७५७ उजुरी फछ्र्यौट भइसकेका छन् ।

प्रदेशभर मंसिर महिनामा ३१ वटा आत्महत्याका घटना भएका छन् । हराएका १५५ जनामध्ये ९० जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको प्रहरीको भनाइ छ।

लागुऔषध नियन्त्रणतर्फ प्रहरीले १ किलो २३९ ग्राम गाँजा, २७ किलो ५८१ ग्राम चरेश र ११८ ग्राम ४३८ मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । यस सम्बन्धमा ५६ मुद्दा दर्ता गरी २ महिला र ८६ पुरुष गरी ८८ जनालाई पक्राउ गरिएको छ ।

सामुदायिक सुरक्षातर्फ प्रदेशभर १ हजार १२२ पटक विभिन्न समुदाय तथा विद्यालय केन्द्रित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

ट्राफिक व्यवस्थापनतर्फ १३० सवारी दुर्घटनामा १० जनाको मृत्यु र २१४ जना घाइते भएका छन्। ट्राफिक कारबाहीमा ३ हजार २८० सवारी साधन परेका छन्, जसबाट रु. २६ लाख २४ हजार ५ सय राजस्व संकलन भएको छ ।

यसैगरी अवैध रूपमा भन्सार छलि ल्याइएका अन्दाजी रु. ९६ लाख ४४ हजार ५ सय बराबरका सामान बरामद गरी भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

यस्तै गत भदौ २४ मा भएको आन्दोलनका क्रममा प्रदेशका विभिन्न कारागारबाट भागेका कैदीबन्दी मध्ये ३६५ जना बन्दी कारागार नफर्केको डीआईजी रानाले बताए ।

कारागारबाट भागेका मध्ये ६५ जना भारतीय कैदी रहेका छन् । फरार रहेका मध्ये धेरैजसो कैदीबन्दी भारत भागेको प्रहरीको अनुमान छ ।

डीआईजी रानाले आगामी दिनमा पनि शान्ति–सुरक्षा, अपराध नियन्त्रण र नागरिकमैत्री सेवामा प्रदेश प्रहरी अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले लागुऔषध नियन्त्रणका लागि सबैसँग सहकार्य गर्ने जानकारी दिए । यस्तै आफूहरु फागुन २१ गते हुने निर्वाचनका लागि सुरक्षा दिन तयार रहेको पनि उनको भनाइ छ ।

सो कार्यक्रममा प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी उपरीक्षक, नायव उपरीक्षक, निरीक्षकहरू, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश तथा जिल्ला समितिका पदाधिकारीहरू र विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077