काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
बैठक मंगलबार दिउँसो १ बजेका लागि पार्टीको केन्द्रीय कार्यालय बस्नेगरी बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।
बैठकमा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको कांग्रेसले आगामी १५औँ महाधिवेशनबारे थप छलफल हुने बताइएको छ । उक्त बैठकमा राजीनामा अस्वीकृत गरिएका सभापति गगनकुमार थापा पनि सहभागी हुनेछन् ।
यसअघि शुक्रबारबाट सुरु भएको केन्द्रीय समिति बैठक आइतबार सम्पन्न भएको थियो ।
उक्त बैठकमा भने सभापति थापा सहभागी भएका थिएनन् ।
फागुन २१ को निर्वाचनमा लज्जास्पद हार ब्यहोरेपछि नैतिकता देखाउँदै सभापति थापाले राजीनामा दिएका थिए । आइतबार सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकले विभिन्न ८ वटा आधार तथा कारण दिँदै सभापति थापाको राजीनामा अस्वीकृत गरेको थियो ।
तर, केन्द्रीय कार्यसमिति बैठकले नै सभापति थापाको राजीनामा अस्वीकृत गरिसकेको कारण वैधानिक रुपमा पार्टी काममा फर्किन मिल्ने र भोलिको बैठकमा सहभागी हुने दुलालले जानकारी दिए ।
पछिल्लो राजनीतिक परिस्थितिका बीच बस्न लागेको उक्त बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।