Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापालाई रक्षा बमको सुझाव - जनमत स्वीकारेर कांग्रेस सफा गर्नुस्

गगन थापालाई रक्षा बमको सुझाव - जनमत स्वीकारेर कांग्रेस सफा गर्नुस्

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले हालै सम्पन्न आम निर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका सभापति गगन थापालाई जनमतको सम्मान गर्दै पार्टी सुधारको दिशामा अघि बढ्न सुझाव दिएकी छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश सार्वजनिक गर्दै बमले थापाले पार्टीभित्र उठाएको विद्रोही आवाजको प्रशंसा गरेकी छन्। तर उनले त्यो कदम समयमै नआएको भन्दै यसपटक भने निकै ढिलो भइसकेको टिप्पणी गरिन् ।

उनले जेनजी आन्दोलनले उठाउँदै आएको ‘दलहरू सुध्रिनुपर्छ’ भन्ने मागलाई थापाले स्वीकार गर्दै आफ्नै दलभित्र विद्रोह गरेको उल्लेख गर्दै लेखेकी छन्, 'आज जसले जे भने पनि तपाईंले देखाएको त्यो साहसलाई मान्नैपर्छ। तर यसपटक धेरै ढिलो भइसकेको थियो।'

बमले नेपाली कांग्रेस अहिले ऐतिहासिक रूपमा कमजोर बन्नुको कारण थापाको विद्रोह नभई पार्टीभित्र वर्षौँदेखि बढ्दै आएको विकृति भएको बताएकी छन्। कांग्रेसीहरूलाई लक्षित गर्दै उनले लेखेकी छन्, 'आज कांग्रेस यस्तो अवस्थामा खुम्चिनुको कारण तपाईंहरूको दलभित्र लामो समयदेखि बढ्दै आएको दलतन्त्र, गलत निर्णयहरू र नेतृत्वले गरेका कमजोरीहरू हुन्।'

उनका अनुसार पार्टीभित्रको ‘दाइवाद र भाउजुवाद’ जस्ता प्रवृत्तिले कांग्रेसलाई कमजोर बनाएको छ। सत्यसँग आँखा जुधाउने हो भने यही संस्कारले पार्टीलाई आजको अवस्थामा पुर्‍याएको उनको भनाइ छ।

चुनावमा हारजित लोकतन्त्रको स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै बमले लोकतन्त्रको सुन्दरता नै जनमतको सम्मान गर्नु रहेको बताएकी छन्। उनले थापालाई नयाँ उदीयमान शक्तिहरूलाई ठूलो मनका साथ स्वागत गर्न र आवश्यक परे सहयोग गर्न समेत आग्रह गरेकी छन्।

लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण रहने भन्दै बमले कांग्रेसले अब फेरि जनतामाझ फर्कनुपर्ने आवश्यकता औँल्याएकी छन्। 'भुइँका कुरा सुन्नुहोस् र नेपाली कांग्रेसलाई फेरि मलजल गरेर, सफा गरेर, जनताको विश्वास जित्ने बीपी र प्रदीप गिरीहरूको कांग्रेस बनाउनुहोस्,' उनले सन्देशमा लेखेकी छन्।

केही समयअघि सम्पन्न कांग्रेसको विशेष महाधिवेशनमा थापाले दिएको ‘कांग्रेस लास र दासहरूको पार्टी होइन’ भन्ने अभिव्यक्तिको स्मरण गराउँदै बमले आगामी दिनका कामहरूले उक्त वाक्यलाई व्यवहारमा सार्थक बनाउने अपेक्षा व्यक्त गरेकी छन्।

सांसद बन्नुअघि गगन थापा आफैं आन्दोलनकारी रहेको स्मरण गर्दै बमले एउटा आन्दोलनकारीको हैसियतबाट अर्को आन्दोलनकारीलाई शुभकामना दिएकी छन्। 'जीवनका हरेक आन्दोलनहरू महत्त्वपूर्ण हुन्छन्। तपाईंले आफैभित्र र आफ्नै दलभित्र सुरु गरेको आन्दोलनले सार्थकता पाओस्,' उनले भनेकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077